जोखिम न्यूनीकरण गर्न चार हिमतालको सतह घटाउने तयारी

सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ ।

जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिब्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्यूनीकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

frontline

हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटब्रस्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य बाढीबाट जोखिममा रहेका समुदाय, उनीहरूको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले जानकारी दिए।

परियोजनाले चार वटा हिमतालको सतह घटाउने लक्ष्य राखेको छ। सोलुखुम्बुका होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो बरुण तथा मनाङको ठुलागी हिमतालको सतह घटाउने परियोजनाको लक्ष्य रहेको बरालले बताए। उनकाअनुसार परियोजनाले हिमतालको पानीको सतह घटाउने, निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्ने र तल्लो तटीय क्षेत्रमा संरक्षणका कार्यक्रम सञ्चालन गर्नेछ।

प्रारम्भिक डिजाइनअनुसार होङ्गु–२ को पानीको सतह एक मिटर र बाँकी तीन हिमतालको तीन–तीन मिटर घटाउने उनले जानकारी दिए। पछिल्लो समय हिमालयको क्रायोस्फियर तिब्र गतिमा परिवर्तन भइरहेकोले हिमताल विस्फोट तथा हिउँपहिरोजस्ता विपद्को जोखिम बढाएको उनले बताए। उनका अनुसार अब हिमतालको जोखिम न्यूनीकरणमा सरकारले तत्कालै काम गर्न आवश्यक छ।

उनले भने, ‘हिन्दुकुश हिमालयमा नै मात्रै कुरा गर्दापनि प्रत्येक वर्ष ग्लेसियर्सहरू घट्दै गइरहेको छ। अघिल्लो दशकभन्दा २०११ देखि २०२० को दशकमा ६५ प्रतिशत फास्टर रेटमा यो रिट्रिट भइरहेको विभिन्न अध्ययनहरूले देखाएको छ। नेपालको हामीले ठुलागी लेकलाई मात्रै हेर्ने हो भने पनि ३० मिटर्स पर इयरको दरले ग्लेसियर रिट्रिट भइरहेको छ। अन्य ग्लेसियर्स लेक्सहरूमा पनि लेकको साइज बढ्ने र ग्लेसियर्सहरू रिट्रिट हुने गरिरहेको छ।’

सन् १९८७ देखि २०१७ सम्मको ३० वर्षमा हिमनदीजन्य तालहरूको समग्र क्षेत्रफलमा करिब २३ प्रतिशतले कमी आएको तथ्यांक प्रस्तुत गर्दै उनले हिमनदीको पछाडि हट्ने क्रम र हिमतालको विस्तारले थप जोखिम बढाएको बताए। पछिल्ला छ दशकमा नेपाल र आसपासका क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख भएका छन्। नेपालभित्र करिब १५ वटा, तिब्बततर्फ ११ वटा र अन्य क्षेत्रमा समेत यस्ता घटना भएको उनले जानकारी दिए।

सन् २०१६ को भोटेकोसी हिमताल विस्फोटको उदाहरण दिँदै उनले करिब ०.०१७ वर्ग किलोमिटर क्षेत्रफलको हिमताल विस्फोट हुँदा करिव ११२ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उल्लेख गरे।

उनका अनुसार सन् २०२० मा यूएनडीपी र इसिमोडले गरेको अध्ययनले नेपालमा क्षति पु¥याउन सक्ने ४७ वटा उच्च जोखिमयुक्त हिमताल पहिचान गरेको थियो। तीमध्ये २१ वटा नेपालतर्फ, २५ वटा चीनको तिब्बततर्फ र एउटा भारततर्फ रहेका छन्। तीमध्ये ४२ वटा कोसी बेसिनमा केन्द्रित छन् भने नौवटा दूधकोसी बेसिनमा छन्।

ठूलो आकारका हिमताल विस्फोट भएमा त्यसले निम्त्याउन सक्ने क्षति सोचेभन्दा भयानक हुने उनको भनाई छ। सोही कारण विपद् हुनुअगाडी नै हिमताल जोखिम न्यूनीकरण गर्नको लागि सरकारले ‘सञ्जीवनी’ परियोजना अगाडी बढाएको उनले बताए।

परियोजनाका लागि ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान प्राप्त भएको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहवित्तीय योगदान १३.७८ मिलियन अमेरिकी डलर रहनेछ। यसरी परियोजनाको कुल लागत करिब ५० मिलियन अमेरिकी डलर रहेको उनले जानकारी दिए।

परियोजनाको अवधि सात वर्षको रहेको छ। हिमाली क्षेत्रमा काम गर्न अनुकूल मौसमको समय सिमित हुने र भौगोलिक तथा प्राविधिक चुनौती रहने भएकाले कार्यान्वयन अवधि लामो राखिएको उनले बताए। परियोजनाले करिब २४ चार लाख मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभ पु¥याउने उनको भनाई छ।

परियोजनाको सातवर्षे अवधि सकिएपछि थप सात वर्षसम्म सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारले लिनेछ।

उनले भने, ‘हामीले लामो समय सन् २००० मा छोरोल्पा र २०१६ मा झण्डै १६ वर्षको डिफरेन्समा इमजालाई अलिकति जोखिमको न्यूनीकरण ग¥यौँ र हामीले पछिल्लो चरणमा यो चार वटा तालहरूको जोखिम न्यूनीकरण र त्यसको पूर्वतयारी लगायतका कार्यहरू गर्नको लागि जिसीएफ ग्रिन क्लाइमेट फण्डको ग्रान्ट र नेपाल सरकारको लगानीमा परियोजना सञ्चालन गर्न लागेका छौँ।’

जलवायु परिवर्तनको प्रभाव हिमताल विस्फोटका साथै कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य र जलस्रोतमा समेत देखिन थालेको उनको भनाई छ। तराईमा खडेरी र बाढीका घटना, हिमाली क्षेत्रमा हिउँपहिरो तथा हिमतालजन्य विपद् र खराब मौसमका कारण पर्यटन गतिविधिमा समेत असर परेको उनले बताए।

नेपालको कमजोर भूगर्भीय संरचना, भूकम्पीय गतिविधि, नदी करिडोरमा बढ्दो आर्थिक गतिविधि तथा जोखिमसम्बन्धी सूचनाको अभावले विपद्को जोखिम थप बढाएको उनको भनाई छ।

स्थानीय र प्रदेश सरकारलाई निर्णय प्रक्रियामा सहभागी गराउन माग
कोसी प्रदेश सरकारका सचिव इन्द्रप्रसाद सापकोटाले परियोजनामा प्रदेश र स्थानीय सरकारलाई पनि सहभागी गराउनुपर्ने बताए। परियोजनाले कोसी बेसिनलाई प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्दै आफूहरू पनि विपद् न्यूनीकरणमा संघीय सरकारसँग हातेमालो गर्न तयार रहेको बताए।

जलवायु जोखिमसँग प्रत्यक्ष जोडिएका विपद् व्यवस्थापन, उद्धार तथा प्रभावित समुदायसँगको समन्वयमा स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ। उनले प्रदेश सरकारले पहिचान गरेका जलवायु परिवर्तन, विपद् तथा हिमताल विस्फोटसम्बन्धी १० वटा प्राथमिकताका कार्यक्रमलाई पनि परियोजनामा समेट्न आग्रह गरे।

उनले भने, ‘प्रोजेक्टको प्राथमिकतामा कोसी बेसिनलाई राखेकामा कोसी प्रदेश सरकार असाध्यै खुशी प्रकट गर्दछ। कोसी प्रदेश सरकार यसमा हातेमालो गर्न तयार छ। यससँगसँगै प्रदेश सरकारका केही कन्सर्नहरू छन्, प्रदेश सरकारका केही एक्सपेक्टेसनहरू पनि छन्। क्लाइमेट रिस्क एसोसिएट भएका सबै डिजास्टरहरू र सबै पोस्ट–डिजास्टर रेस्पोन्सहरूमा प्रदेश र स्थानिय तह जोडिँदै आएका छन्। नजिकको सरकारसँग क्लाइमेट रिस्कसँग सम्बन्धित सबै विपद् र विपद्पछिको प्रतिकार्य जोडिएको हुन्छ।’

उनले विपद् न्यूनीकरण लागि उपलब्ध बजेट स्थानीय तहसम्म पु¥याएर प्रभावकारी रूपमा खर्च गर्नुपर्नेमा जोड दिए। कतिपय खरिद प्रक्रियासँग सम्बन्धित नीतिगत अवरोधले खर्च गर्न समस्या भईरहेको उनको भनाई छ।

जोखिमयुक्त हिमताल व्यवस्थापन गर्न दशकौँ लाग्न सक्छः सिंह

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here