चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ
हुम्ला : चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । चंखेली गाउँपालिका–४ पिप्लाङका ४२ वर्षीय एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहमाथि कुटपिट गरेको आरोपमा गाउँपालिकाका ५२ वर्षीय अध्यक्ष प्यारिलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार मंसिर ३ गते पारिश्रमिक माग्न गाउँपालिका अध्यक्षसमक्ष पुगेका चालक सिंहमाथि हातपात भएको थियो । पछि अनुसन्धानका क्रममा चालक सिंह मादक पदार्थ सेवन गरी गाउँपालिका अध्यक्षसमक्ष पुगेको र पहिले आफैंले आक्रमण गर्न खोजेपछि अध्यक्षका आफन्तबाट भएको ढुंगा प्रहारले उनको टाउकोमा सामान्य चोट लागेको उनको भनाइ छ।
घटनामा सिंहको टाउकोमा चोट लागेको छ भने छुट्याउन पुगेका उनका बुवालगायत अन्य व्यक्ति पनि घाइते भएको पीडित पक्षको दाबी छ । घाइते सिंहलाई थप उपचारका लागि सिमकोटबाट हवाईजहाजमार्फत् नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
सिंह विगत सात वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत थिए । एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि सुर्खेतस्थित ग्यारेजमा लगिएको र मर्मत सम्पन्न भए पनि गाउँपालिकाले खर्च भुक्तानी नगर्दा एम्बुलेन्स अझै ग्यारेजमै रहेको स्थानीय धुर्वबहादुर शाहीले बताए।
यही विषयसँगै आफ्नो पारिश्रमिक माग्न जाँदा विवाद भएको चालक सिंहको भनाइ छ।
घटनापछि थप झडप हुन नदिन प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो । पीडित पक्षको जाहेरीपछि दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्