गण्डकी क्षेत्रमा भारी वर्षा: मर्स्याङ्दी र कालीगण्डकीसहितका नदीमा जलसतह बढ्दै
काठमाडौं : बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण हाल नेपालका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।
पर्यावरण, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण विज्ञ उज्ज्वल उपाध्यायका अनुसार गण्डकी प्रदेशका अधिकांश स्थानमा शनिबार बिहानैदेखि भारी वर्षा जारी छ। रातभर परेको अविरल वर्षाका कारण मनाङको ताल क्षेत्रमा ८२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ भने वर्षा अझै रोकिएको छैन।
निरन्तरको वर्षाले गण्डकी प्रदेशका प्रमुख नदीहरू—मर्स्याङ्दी, कालीगण्डकी, बुढीगण्डकी, मादी र सेतीमा जलसतह तीव्र रूपमा बढिरहेको छ। नदी आसपासका बासिन्दाहरूलाई उच्च सतर्कताका साथै आवश्यक पूर्वतयारी अपनाउन विज्ञ उपाध्यायले आग्रह गरेका छन्।
यसैगरी, भारी वर्षाका कारण पहिरोको जोखिम उच्च रहेकाले पृथ्वी राजमार्गको गल्छी–नारायणगढ खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा भने आज रातिसम्मका लागि यात्रा स्थगित गर्न वा यात्रा नगर्न सुझाव दिइएको छ।
काठमाडौं उपत्यकामा पनि लगातारको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ भने, नदी तथा खोलाहरूमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ।
मौसमविद्हरूका अनुसार वर्षा अझै केही समय जारी रहने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा तथा सर्वसाधारण यात्रुहरूलाई आवश्यक पूर्वसतर्कता अपनाउन अनुरोध गरिएको छ।






प्रतिक्रिया दिनुहोस्