कास्कीको रूपा गाउँपालिकाले ५५ करोडको अनुमानित बजेट तथा कार्यक्रम प्रस्ताव
पोखरा/कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्तासहित कुल ५५ करोड ३८ लाख १ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले मंगलबार आयोजित गाउँसभाको बैठकमा “रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान’’ भन्ने नाराका साथ उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
विनियोजित बजेटमध्ये चालुतर्फ ४१ करोड ८२ लाख ३० हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड ५५ लाख ७१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि आवश्यक खर्च ब्यहोर्ने स्रोततर्फ नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ७ करोड ७८ लाख, राजस्व बाँडफाँडबाट ७ करोड ५९ लाख, सशर्त अनुदानबापत २९ करोड २९ लाख, समपूरक अनुदानबाट १ करोड ७५ लाख र विशेष अनुदानबाट ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
त्यस्तै, गण्डकी प्रदेश सरकारबाट राजस्व बाँडफाँडबापत ८१ लाख २ हजार, समपूरक अनुदान ६० लाख, समानीकरण अनुदान ९३ लाख ९६ हजार र विशेष अनुदान ४० लाख रुपैयाँ प्राप्त हुने बताइएको छ । गाउँपालिकाले चालु आवको बचत (अल्या) रकम ४ करोड ६२ लाख र आन्तरिक स्रोतबाट १ करोड २७ लाख रुपैयाँ संकलन गरी बजेट व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षको हालसम्मको समीक्षा गर्दै उपाध्यक्ष गुरुङ्गले पालिकाको औषत वित्तीय प्रगति ५३.८३ प्रतिशत रहेको जानकारी गराइन् ।
बजेटमा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि कृषि, पशुसेवा तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । आर्थिक विकासतर्फ ४ करोड ४० लाख रुपैयाँ विनियोजन गर्दै पालिकाले “मेहनती कृषकको हात, गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एकीकृत कृषि विकास कार्यक्रमका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याएको छ ।
कृषि क्षेत्रको समग्र विकास, किसान एप सञ्चालन, तथा रैथाने बाली संरक्षणका लागि २ करोड ५ लाख रुपैयाँ व्यवस्था गरिएको छ । पशुसेवातर्फ ७८ लाख ८० हजार रुपैयाँ विनियोजन गरी दूधमा उत्पादनमा आधारित अनुदान, साइलेज उद्योग सञ्चालन, र गाई, भैँसी तथा गोरुको निःशुल्क बीमा एवं नश्ल सुधार कार्यक्रम अघि सारिएको छ ।
पर्यटन क्षेत्रतर्फ रोयल ट्रेकको स्तरोन्नति, जलदेवी मन्दिर संरक्षण, ‘एक वडा एक चौतारी, एक वडा एक पोखरी’ कार्यक्रम, होमस्टे प्रवद्र्धन तथा झरना निर्माणको सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । साथै, कृषि उपजको बजारीकरणका लागि घुम्ती हाटबजार र कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति लिइएको छ ।
सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र लैङ्गिक सशक्तीकरणका लागि १९ करोड ४३ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा क्षेत्रका लागि मात्रै १५ करोड २४ लाख १७ हजार रुपैयाँ छुट्याउँदै गाउँपालिकाले मेगा नमुना विद्यालय सञ्चालन, प्राविधिक शिक्षा र शिक्षकहरूको क्षमता विकासमा जोड दिएको छ । स्वास्थ्य सेवातर्फ ३ करोड ४३ लाख रुपैयाँ विनियोजन गरी विशेष स्क्रिनिङ मेसिनसहितको स्वास्थ्य परीक्षण, विशेषज्ञ दाँत उपचार, महिलाहरूको पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण, सुरक्षित प्रसूति, र पालिकालाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिने जनाइएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य बीमा महसुलमा शतप्रतिशत र ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । लैङ्गिक समानता र सामाजिक समावेशीकरणतर्फ ५६ लाख रुपैयाँ विनियोजन गर्दै जेष्ठ नागरिक, महिला, बालबालिका तथा बोटे, जलारी जस्ता पछाडि परेका समुदायको सशक्तीकरण, “रूपाकी छोरी’’ कार्यक्रमका लागि ७ लाख रुपैयाँ, र सुत्केरी भेटघाट कार्यक्रमलाई निरन्तरता दिइएको छ । स्वच्छ खानेपानी तथा सरसफाइका निम्ति ११ लाख रुपैयाँ छुट्याइएको छ ।
पूर्वाधार विकासतर्फ ११ करोड १८ लाख ५१ हजार रुपैयाँ विनियोजन गरी रणनीतिक सडक र पुल निर्माणलाई तीव्रता दिइने बजेटमा उल्लेख छ । गुणस्तरीय र दिगो सडक निर्माणका लागि पूर्वाधार ‘र्यापिड रेस्पोन्स टिम’ को व्यवस्थापन गरिने पालिकाले जनाएको छ । सुशासन, प्रविधि, रोजगार र न्याय सम्पादनलाई प्रभावकारी बनाउन ठोस कार्यक्रम ल्याइएको छ ।
कार्यालय सञ्चालन, प्रशासनिक, सुशासन र सेवा प्रवाह क्षेत्रका लागि कुल १२ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ । पालिकाले “नागरिक सहायता डेस्क’’ मार्फत सेवालाई नागरिकमैत्री बनाउने, भूमिहीन दलित र सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने र गरिब परिवार पहिचान गरी परिचयपत्र दिने व्यवस्था मिलाएको छ । “काम गरी कमाऊ, स्वदेशमै रमाऊ’’ भन्ने नाराका साथ युवा स्वरोजगारका लागि सीपमूलक कार्यक्रम र साझेदारी योजनाहरू अघि सारिएका छन् ।
न्याय सम्पादनतर्फ टोल–टोलमा कानुनी सचेतना जगाउन र जिल्लास्तरीय न्यायिक सम्मेलन सञ्चालनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । युवा तथा खेलकुदतर्फ खेलाडी प्रशिक्षण र राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरी १० लाख रुपैयाँ व्यवस्था गरिएको छ । उपाध्यक्ष गुरुङले सीमित स्रोत साधनका बाबजुद जनताका असीमित अपेक्षाहरूलाई सम्बोधन गर्ने प्रयास गरिएको बताउँदै बजेटको सफल कार्यान्वयनका लागि सबै सभा सदस्य र सरोकारवालाहरूबाट पूर्ण साथ र सहयोगको अपेक्षा गरेकी छन् ।
रुपाले यसअघि मंगलबार नै नीति तथा कार्यक्रम ल्याएको थियो । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उक्त नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका गर्नुभएको छ।






प्रतिक्रिया दिनुहोस्