करको दायरा विस्तार र प्रविधिमैत्री प्रशासनका लागि आजदेखि साताव्यापी कर सप्ताह सुरू
काठमाडौं : राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम सुरू गरेको छ।
दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ। ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित मनाइन थालिएको यस साताव्यापी कार्यक्रमअन्तर्गत करदाता सम्मानसँगै प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ।
विभागअन्तर्गतका कार्यालयले आ–आफ्नो क्षेत्रका तीन–तीन करदातालाई सम्मान गर्नेछन्। करको दायरा विस्तार, करसम्बन्धी स्किम कार्यान्वयन, डिजिटल कर सेवा प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि प्रचारप्रसार गरिनेछ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कर सचेतनासम्बन्धी डिस्प्ले बोर्ड राखिनेछ।
शैक्षिक परामर्श तथा ओभरसिज कम्पनीलाई लक्षित विशेष कार्यक्रम, उद्योग वाणिज्य संघसँगको सहकार्यमा सचेतना अभियान र स्थानीय तहका साथै कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षणसमेत दिइनेछ। विभागका अनुसार करलाई राष्ट्र निर्माणमा नागरिकको प्रत्यक्ष साझेदारीका रूपमा लिँदै कर प्रशासनलाई भ्रष्टाचारमुक्त, पारदर्शी, सरल र प्रविधिमैत्री बनाउने तथा करको प्रत्यक्ष प्रतिफल नागरिकलाई अनुभूति गराउन सरकार प्रतिबद्ध छ।






प्रतिक्रिया दिनुहोस्