एमाले महाधिवेशनमा ८ विदेशी पार्टीका १५ जना पाहुनाहरु सहभागी हुने

९ मंसिर, काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित निश्चित भएको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा बिहीवार नेकपा(एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरु महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो ।

frontline

यसका साथसाथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिए।

विदेशी पाहुनाहरुलाई काठमाडौंमा रहँदा होटल सोल्टीमा बसोबासको व्यवस्था गरिएको र मंसिर ९ गते(बिहीवार) साँझ एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले रात्रीभोजको आयोजना गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

विदेशी पाहुनाहरुले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरुलाई मंसिर १२ गते बिहान चितवनमा संयुक्त ब्रेकफाष्ट मिटिङ गर्ने कार्यसूची छ।

अतिथि सत्कार समितिको अनुसार चितवनमा रहँदा पाहुनाहरुलाई ग्रिन मेनसन जंगल रिसोर्टमा बसोबासको व्यवस्था मिलाइएको छ । त्यसैगरी स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकन समेत गराइने भएको छ ।

महाधिवेशनमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई निमन्त्रणा गरिएको भएपनि हालसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागि हुने जानकारी गराएको एमाले दशौं राष्ट्रिय महाधिवेशन अतिथी सत्कार समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here