एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि

फिफा विश्वकप २०२६ को उपाधिको प्रतिस्पर्धा अन्तिम चरणमा पुग्दा अर्को प्रतिष्ठित व्यक्तिगत पुरस्कार ‘गोल्डेन बुट’को दौड पनि उत्तिकै रोमाञ्चक बनेको छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपमा विश्वका उत्कृष्ट स्ट्राइकरहरूबीच सर्वाधिक गोलकर्ताको दौडका लागि कडा प्रतिस्पर्धा भइरहेको छ। 

क्वार्टरफाइनल सकिँदासम्म फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्। दुवैले समान ८ गोल गरेका छन्। तर, गोल असिस्टमा एमबाप्पे अघि रहेकाले उनी शीर्ष स्थानमा छन्। फिफाको नियमअनुसार गोल संख्या बराबर भए असिस्टका आधारमा वरीयता निर्धारण गरिन्छ। त्यसपछि पनि बराबरी भए कम समय मैदानमा बिताएको खेलाडीलाई विजेता घोषणा गरिन्छ। यही कारण एमबाप्पे शीर्ष स्थानमा रहेका हुन्। उनले ८ गोलसँगै तीन असिस्ट पनि गरेका छन्। दोस्रो स्थानका मेसीले ८ गोल र एक असिस्ट गरेका छन्। 

frontline

विश्व फुटबलका दुई फरक पुस्ताका सुपरस्टारबीचको यो प्रतिस्पर्धाले विश्वकपलाई थप आकर्षक बनाएको छ। ३९ वर्षीय मेसी सम्भावित अन्तिम विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधितर्फ डो¥याइरहेका उनले व्यक्तिगत रूपमा पनि अर्को ऐतिहासिक उपलब्धि थप्ने अवसर पाएका छन्। यसअघि विश्वकपमा गोल्डेन बल जितिसकेका मेसी पहिलो पटक गोल्डेन बुट जित्ने लक्ष्यमा छन्। प्रतियोगिताभर उनको प्रभाव गोलमा मात्र सीमित छैन, खेल निर्माण, असिस्ट र नेतृत्वमा पनि उनी अर्जेन्टिनाका प्रमुख आधार बनेका छन्।

अर्कोतर्फ, फ्रान्सका कप्तान एमबाप्पे विश्व फुटबलका सबैभन्दा घातक फरवार्डका रूपमा फेरि एकपटक स्थापित भएका छन्। कतार विश्वकप २०२२ मा आठ गोल गर्दै गोल्डेन बुट जितेका उनले यस संस्करणमा पनि उत्कृष्ट लय कायम राखेका छन्। उनी यस पटक पनि सर्वाधिक गोलकर्ता बन्न सफल भए लगातार दुई विश्वकपमा गोल्डेन बुट जित्ने दुर्लभ उपलब्धि हासिल गर्नेछन्। फ्रान्सलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा निर्णायक क्षणमा गोल गर्ने क्षमता नै उनलाई अन्य खेलाडीभन्दा फरक बनाउने प्रमुख विशेषता बनेको छ।

नर्वेका एर्लिङ हालान्ड पनि गोल्डेन बुटको बलियो दाबेदारका रूपमा उभिएका छन्। अहिलेसम्म सात गोल गरिसकेका हालान्डको टोली नर्वे भने विश्वकपबाट बाहिरिसकेकाले उनको सम्भावना कम छ। यस्तै इङ्ल्यान्डका कप्तान हेरी केनले पनि आफ्नो गोल गर्ने क्षमता फेरि प्रमाणित गरेका छन्। सन् २०१८ को विश्वकपको गोल्डेन बुट विजेता केन यसपटक छ गोलसहित दौडमा छन्। उनीसँगै इङ्ल्यान्डका युवा स्टार जुड बेलिङ्घमले पनि समान ६ गोल गरेका छन्। केनको अनुभव र बेलिङ्घमको ऊर्जाले इङ्ल्यान्डलाई उपाधि दाबेदार बनाएको मात्र छैन, व्यक्तिगत पुरस्कारको समीकरण पनि खुला राखेको छ।

फ्रान्सका ओस्मान डेम्बेले पनि पाँच गोलसहित प्रतिस्पर्धामा छन्। यस्तै स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर, सेनेगलका इस्माइला सार तथा मेक्सिकोका जुलियन क्विनोनेसले समान चार गोल गरेका छन्। तर, स्पेन बाहेकका टोली विश्वकपबाट बाहिरिसकेकाले ओयारजाबाल बाहेको चुनौती भने समाप्त भइसकेको छ। 

विश्वकपको इतिहास हेर्दा गोल्डेन बुट जित्ने खेलाडीहरू आफ्ना टोलीलाई प्रतियोगिताको अन्तिम चरणसम्म पुर्‍याउन सफल भएका छन्। धेरै खेल खेल्ने अवसरले गोल संख्या बढाउने सम्भावना पनि बढाउँछ। यही कारण सेमिफाइनल र फाइनलमा पुग्ने टोलीका स्ट्राइकरहरूलाई स्पष्ट फाइदा हुने देखिन्छ। एक उत्कृष्ट खेलले नै गोल्डेन बुटको समीकरण पूरै बदल्न सक्ने भएकाले अहिलेको अग्रता अन्तिमसम्म पुग्न भन्ने छैन। 

विश्व फुटबलका महान् स्ट्राइकरहरूको यो प्रतिस्पर्धाले विश्वकपलाई थप रोमाञ्चक बनाएको छ। समर्थकहरू उपाधि कसले जित्ला भन्ने प्रतीक्षामा मात्र छैनन्, सर्वाधिक गोलकर्ता को बन्ला भन्नेमा पनि छन्। अनुभवी मेसीले करियरको अर्को स्वर्णिम अध्याय लेख्ने हुन् वा एमबाप्पेले लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्दै नयाँ इतिहास बनाउने हुन् वा बेलिङ्घम र केनजस्ता स्टारले अन्तिम समयमा बाजी मार्ने हुन् ? यसको उत्तर अब विश्वकपका बाँकी खेलले दिनेछ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here