एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा
२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटक एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो ।
क्यानका सचिव पारस खड्काले यसअघि एनपीएलमा पहिलोपटक डीआरएस ल्याउने पहल भइरहेको बताएका थिए । दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको र अब त्यसको तथ्यपरकता (एक्युरेसी) मूल्यांकनपछि अन्तिम निर्णय गरिने कुरा पारसले उल्लेख गरेका थिए ।
डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ ।






प्रतिक्रिया दिनुहोस्