४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य
आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक अवधिमा वस्तु आयात झण्डै २ खर्ब रुपैयाँले बढेको छ । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म वस्तु आयात ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबर भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.७७ प्रतिशत धेरै हो ।
गत आवको कात्तिकसम्म वस्तु आयात ६ खर्ब ९ अर्ब ४५ करोड बराबर भएको विभागले जनाएको छ । यस वर्ष १ खर्ब ९३ अर्ब ६४ करोडले आयात बढेको तथ्यांकमा देखिन्छ। विभागका अनुसार आयात र निर्यात दुबैमा आएको उछालका कारण समग्र वैदेशिक व्यापार चार महिनामै ९ खर्ब ३७ अर्ब २४ करोड बराबर पुगेको छ ।



यसले औसत मासिक २ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भइरहेको देखाउँछ । यसमध्ये ठूलो हिस्या आयातले ओगट्छ । कात्तिक महिनामा मात्र डेढ खर्बको आयात भएको छ ।
प्रथम चौमासिक अवधिमा १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४३.४८ प्रतिशत धेरै हो । गत आवको यस अवधिमा ९३ अर्ब ४९ करोडको मात्र वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुबै बढ्दा वैदेशिक व्यापारको कुल आकार ९ खर्ब ३७ अर्ब २४ करोड बराबर भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशतले धेरै हो । गत आवको पहिलो चार महिनामा व्यापारको आकार ७ खर्ब २ अर्ब रुपैयाँ हाराहारी मात्र थियो ।
पहिलो चार महिनामा व्यापार घाटा ६ खर्ब ६८ अर्ब रुपैयाँ बराबर भएको छ । जुन अघिल्लो वर्षको तुलनामा २९.६५ प्रतिशत बढी हो । गत वर्ष व्यापार घाटा कात्तिकसम्म ५ खर्ब १५ अर्ब रुपैयाँ मात्र थियो । यस वर्ष आयात र निर्यात दुबैमा उल्लेख्य वृद्धि भएको छ ।
यद्यपी कुल वैदेशिक व्यापारमा आयातको हिस्सा अधिक हुँदा त्यसको असर व्यापार घाटामा देखिएको हो । यस वर्ष कुल व्यापारमा आयातको हिस्सा ८५.६९ प्रतिशत हुँदा निर्यातको हिस्सा १३.३१ प्रतिशत कायम भएको छ । जुन अघिल्लो आवको तुलनामा ७.६१ प्रतिशतको सुधार हो ।
कुल निर्यातभन्दा इन्धन आयातमा धेरै खर्च
पहिलो चार महिनामै कुल निर्यातको तुलनामा इन्धन आयातमा विदेशिने रकम बढी हुन पुगेको छ । इन्धन आयातमा १ खर्ब ५७ अर्ब ५५ करोड खर्च भइसकेको छ । जसबाट मुलुकले ३७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । वनस्पति तथा अन्य घ्यू–तेलको आयात ८० अर्ब ८२ करोड बराबर भएको छ ।
यस्तो वस्तुको निर्यात ६८ अर्ब ८७ करोड बराबरको भएको छ । पहिलो चार महिनामा सवारी साधन र त्यसको पार्टपूर्जा आयातमा ६७ अर्ब २८ करोड रुपैयाँ विदेशिएको छ । सवारी साधनबाट मुलुकले ४७ अर्ब १५ करोड राजस्व संकलन गरेको छ ।
मेसिन तथा त्यसको पार्टपूर्जा आयातमा ५२ अर्ब ३१ करोड खर्च भएको छ । आइरन तथा स्टील आयात ४९ अर्ब ३३ करोड बराबरको भएको छ । आयातको तथ्यांक केलाउँदा अहिले पनि पुँजी निर्माण भन्दा उपभोग्य वस्तुको आयात अधिक देखिन्छ । जसले मुलुकको अर्थतन्त्रलाई निर्वाहमुखी मात्र बनाएको छ । विद्युतीय वस्तु र उपकरणको आयात ४७ अर्ब ७२ करोडको भएको छ ।
मल आयात ३४ अर्बको भइसकेको छ । निर्यातमा समेत नेपालको उत्पादन तथा आयातबाट अधिक मूल्यअभिवृद्धि हुने वस्तुको तुलनामा कम मूल्य अभिवृद्धि हुने वस्तु निर्यात धेरै हो । चार महिनामा ८० अर्ब ८२ करोडको कच्चा तेल आयात गरेको नेपालले ६८ अर्ब ८७ करोड बराबरको निर्यात गरेका छन् ।
यी हुन् धेरै आयात भएका वस्तु
पहिलो चार महिनामा सबैभन्दा धेरै आयात कच्चा सोयाबिन तेल भएको छ । यस अवधिमा ६२ अर्ब ८१ करोडको सोयाबिन तेल आयात गरिएको छ । डिजेल दोस्रो स्थानमा छ । चार महिनामा ५९ अर्ब २८ करोडको डिजेल आयात भएको देखिन्छ ।
पेट्रोल तेस्रो स्थानमा छ । चालु आवमा कात्तिकसम्म ३४ अर्ब ४२ करोडको पेट्रोल आयात भएको छ । खाना पकाउने ग्यास २९ अर्ब ४७ करोडको आयात भएको छ । चार महिनामा स्पन्ज आइरन २२ अर्ब २६ करोड र स्मार्ट फोन २० अर्ब ६८ करोड बराबरको आयात भएको तथ्यांक छ । ४ महिनामा ४ अर्ब २२ करोडको सुन आयात भएको छ ।
बढी निर्यात हुने वस्तु के हुन् ?
पहिलो चार महिनामा बढी निर्यात भएका वस्तुको पहिलो नम्बरमा सोयाबिन तेल रहेको छ । जुन ६१ अर्ब ३४ करोड बराबरको भएको छ । कार्पेट निर्यात ३ अर्ब ८९ करोडको भएको छ । अलैँची निर्यात ३ अर्ब ४४ करोडको भएको छ ।
जुटको निर्यात ३ अर्ब ३१ करोडको भएको छ । सूर्यमुखी तेल २ अर्ब ७८ करोडको भएको छ । पाम तेल २ अर्ब ६९ करोड बराबरको भएको भन्सार विभागको तथ्यांक छ ।
१३७ भन्दा धेरै देशसँग व्यापार, भारत र चीन मूख्य साझेदार
कात्तिकसम्म कुल १३७ भन्दा धेरै देशसँग वैदेशिक व्यापार भएको छ । जसमध्ये भारत र चीन नेपालका मुख्य व्यापार साझेदार हुन् । भारतबाट नेपालमा ४ खर्ब ६२ अर्बको वस्तु भित्रिएको छ । नेपालबाट १ खर्ब १२ अर्बको वस्तु भारततर्फ निर्यात भएको छ ।
भारतसँग चार महिनामा ३ खर्ब ४९ अर्ब बराबरको व्यापार घाटा छ । चीनबाट यस वर्ष १ खर्ब ६४ अर्बको सामान नेपाल आएको छ । नेपालबाट भने १ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको तथ्यांक छ । अर्जेन्टिना तेस्रो व्यापार साझेदार मुलुक बनेको छ । यस मुलुकबाट ४२ अर्ब ९५ करोड बराबरको वस्तु भित्रिएको छ ।
साउदी अरेबियाबाट ११ अर्ब ८० करोडको सामान नेपालमा आयात भएको छ । ब्राजिलबाट १० अर्ब ८३ करोड र अमेरिकाबाट १० अर्ब ४८ करोडको वस्तु भित्रिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
तुलनात्मक रुपमा अमेरिका र नेपालबीच व्यापार घाटा कम छ । किनकि चार महिनामा नेपालबाट ७ अर्ब ८५ करोड बराबरको वस्तु अमेरिका निर्यात भएको छ ।






प्रतिक्रिया दिनुहोस्