हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा
१७ पुस, काठमाडौं । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदनमा हिमाली क्षेत्रको भौगोलिक अवस्था, उत्तर–दक्षिणमा छोटो दूरीमा उचाइ परिवर्तनको कारणले तापक्रम र वर्षाको भिन्नतामा उच्च परिवर्तन देखिएको उल्लेख गरिएको छ।
नेपालमा सन् १९७७ देखि २०१० सम्म करिब २४ प्रतिशतले हिमनदीको क्षेत्रफल घटेको यसअघिको एक अध्ययन प्रतिवेदनको निष्कर्षलाई पनि पछिल्लो अध्ययनले सार्वजनिक गरेको छ।
सन् १९७० देखि २००७ सम्म नेपालको खुम्बु क्षेत्रमा पर्ने इम्जा र ल्होत्से हिमनदीको उचाइ घटेको तथ्य पनि अध्ययनले सार्वजनिक गरेको छ।
हिमतालको तीव्र विकासले हिमताल विष्फोटबाट हुने बाढीको जोखिम बढेको छ। कोशी, गण्डकी र कर्णाली जलाधारमा सम्भावित खतरनाक ४७ वटा हिमताल पहिचान गरिएका छन्।
यसमध्ये २१ वटा नेपालको उच्च हिमाली क्षेत्रमा, २५ वटा तिब्बतमा र एउटा भारतमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ। हालसम्म नेपाल हिमशृङ्खलाबाट ३५ वटा हिमताल विष्फोटन भएको विभिन्न स्रोतमा उल्लेख गरिएको तथ्यलाई पनि अध्ययन बाहिर ल्याएको छ।
अध्ययन कार्यदलका संयोजक मोहनबहादुर चन्द सन् १९६३ मा कञ्चनजङ्घा क्षेत्रमा हिमताल फुटेको तथ्य स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाकाबाट पुष्टि भएको बताए।
यसको अभिलेख भने कतै नभएको र यो विषय सञ्चारमाध्यममा पनि नआएको उहाँले कार्यक्रममा सुनाए।
पूर्ववातावरण सचिव भएर काम गरिसकेकाका कृष्ण ज्ञवालीले यस्ता विषयमा छलफल गर्ने वातावरण परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिए पनि त्यसको बैठक नै कम बस्ने गरेको जानकारी गराए।
परिषद्को बोझिलो संरचना भएकाले कमै बैठक बस्ने गरेकोसमेत उनको अनुभव छ।
वन तथा वातावरण मन्त्रालयका उपसचिव डा अरुणप्रकाश भट्टले पछिल्लो समय मेलम्चीमा आएको बाढी, मनाङको हिमपहिरो र सुदूरपश्चिम प्रदेशमा बेमौसममा पानी परी धानबाली नष्ट भएको घटना जलवायु परिवर्तनको प्रभाव भएको बताए।
विकसित राष्ट्रले कार्वन उत्सर्जन गर्दा आएको यो समस्या समाधानमा पनि तिनै देशले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
सन् २०११ को अध्ययन अनुसार नेपालले ०.०५६ प्रतिशतमात्र कार्बन उत्सर्जन गर्छ।






प्रतिक्रिया दिनुहोस्