सवारी दुर्घटनामा पत्रकार पोखरेलको मृत्यु

पत्रकार पोषकान्त पोखरेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा शुक्रबार भएको दुर्घटनामा ४२ वर्षीय पोखरेलको मृत्यु भएको हो।

उनी ललितपुरबाट प्रकाशित हुने आर्थिक राष्ट्रिय दैनिकमा कार्यरत थिए। 

frontline

हुलाकी सडकखण्डमा पोखरेल सवार लु प्र ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई सु प्र ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ का २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरेलको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवाडी निवासी पोखरेल लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। पोखरेलले ‘अग्नि परीक्षा’ नामक साप्ताहिक पत्रिका सञ्चालनसमेत गर्दै आएका थिए। नेपाल पत्रकार महासंघ, रूपन्देही शाखाका सदस्यसमेत रहेका पोखरेलको श्रीमती र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here