वर्तमान सरकार जनतालाई निराशाबाट बाहिर निकाल्ने प्रयासमा छ : उपमहासचिव ज्ञवाली
समाचार सारांश
- एमाले उपमहासचिव ज्ञवालीले झगडाले नभई समृद्धिले देश बन्ने बताए। छिमेकीसँग सन्तुलित सम्बन्ध र विकासमा जोड दिए।
- ज्ञवालीले चीन र भारतसँगको सहकार्यबाट आर्थिक विकास सम्भव रहेको बताए, र वर्तमान सरकारको प्रयासको चर्चा गरे।
- ज्ञवालीले माओवादीमाथि विदेशी इशारामा काम गरेको आरोप लगाए, र एमालेभित्रको अवसरवादी प्रवृत्तिबारे टिप्पणी गरे।
सिन्धुली । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले झगडाले नभई समृद्धिले देश बन्ने बताएका छन् । एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को दोस्रो बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै ज्ञवालीले नेपालले छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
उनले नेपाललाई अस्थिरता, विभाजन र टकरावको राजनीति होइन, स्थायित्व, विकास र सहकार्यको बाटो आवश्यक रहेको स्पष्ट पारे । उनले भने, ‘नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ सम्झौता गरिसकेको छ। यदि भारतबाट पनि यस्तै प्रस्ताव आउँछ भने हामी खुलेर स्वागत गर्न तयार छौँ।’
ज्ञवालीका अनुसार चीन र भारत जस्ता विश्वका प्रमुख अर्थतन्त्रसँग सहकार्य गर्दै मात्र नेपालले आर्थिक विकासको गति लिन सक्छ। उनले वर्तमान सरकारले जनतालाई चरम निराशाबाट निकाल्ने प्रयास गरिरहेको बताए । सरकारले जनता आकाङ्क्षा सम्बोधन गर्न र उनीहरूमा भएको निराशा चिर्न ठुलो मेहनत गरिरहेको उनको भनाइ छ । माओवादीप्रति लक्षित गर्दै उनले भने– ‘३२ सिट मात्र जितेको पार्टीले विदेशीको इशारामा काम गरिरहेको देखिन्छ ।’
त्यस्तै उनले २०७९ मा एमालेले नन्दकिशोर पुनलाई राष्ट्रपति बनाउने प्रस्ताव राख्दा प्रचण्डले त्यसलाई अस्वीकार गरेको पनि खुलासा गरे । ‘विदेशी चाहनाअनुसार निर्णय गर्ने प्रवृत्तिले राष्ट्रलाई आत्मनिर्भर बनाउँदैन,’ उनले भने ।
ज्ञवालीले माओवादी प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको र देश विकासमा बाधा पुगेको टिप्पणी गर्दै एमालेभित्र अवसरको भरमा आएको प्रवृत्तिले थप चुनौती सिर्जना गरेको बताए ।
बैठकमा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले पार्टीमाथि भएको विभिन्न आक्रमणका बाबजुद सङ्गठन अझै लेनिनवादी सिद्धान्त, विधि र पद्धतिमा दृढ रहेको बताए । उनले हालै पार्टीमा २ हजारभन्दा बढी नयाँ सदस्यहरू थपिएको र सङ्गठन जनआकर्षणको केन्द्र बनेको दाबी गरे।
कार्यक्रममा पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै समूहगत छलफलबाट महत्त्वपूर्ण सुझावहरू प्राप्त भएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्