रेस्टुरेन्ट सञ्चालकको शव जंगलमा भेटियो, कामदार युवती प्रहरी नियन्त्रणमा

विराटनगरका एक रेस्टुरेन्टका सञ्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

शनिबार दिउँसो केराबारी गाउँपालिका ९ को धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा युवा व्यवसायी मनोज खत्रीको शव फेला परेको थियो।

frontline

उनको मृत्यु प्रकरणलाई लिएर उनीसँग व्यक्तिगत सम्बन्धमा रहेकी एक युवती प्रहरी अनुसन्धानको दायरामा आएकी छिन्। 

‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक खत्रीको रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीय युवतीसँग व्यक्तिगत सम्बन्ध रहेको देखिएको छ। 

घटनापछि रेस्टुरेन्टको आर्थिक हिसाबकिताबलाई आधार बनाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले खत्रीले सञ्चालन गर्दै आएको रेस्टुरेन्टको आर्थिक हिसाबकिताबसमेत ती युवतीले हेर्दै आएको जानकारी दिए। 

प्रारम्भिक रुपमा खत्री र युवतीबिच प्रेम सम्बन्धका विषयमासमेत प्रहरीले अनुसन्धान थालेको जनाएको छ। 

प्रहरीले युवतीलाई शनिबार राति नै पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। उनी विरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

यद्यपि, खत्रीको मृत्युमा युवतीको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका छ वा छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि भइसकेको छैन।

प्रहरीले खत्री र युवतीबिच पछिल्लो समय सम्बन्धमा खटपट देखिएको तथा रेस्टुरेन्टको आर्थिक कारोबारसम्बन्धी विषय पनि अनुसन्धानयोग्य रहेको जनाएको छ।  

विराटनगर महानगरपालिका–३ निवासी ५१ वर्षीय खत्री शुक्रवार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। 

त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनी शनिवार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। 

परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ उनको सनाखत भएको थियो। 

खत्री विवाहित हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाका बेला उनकी श्रीमती भारतमा थिइन्। 

उनी फर्किएर आएपछि परिवारका सदस्यको उपस्थितिमा पोस्टमार्टम प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। 

खत्रीको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। 

पोस्टमार्टम रिपोर्ट, प्राप्त हुने अन्य प्रमाण र अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा मृत्युको कारण यकिन हुने एसपी कटवालले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here