महानायक राजेश हमालको अपिल : ‘प्रतिशोध र विभाजन होइन सहअस्तित्व रोजौँ
महानायक राजेश हमालले सुनसरीमा घटेको दुःखद घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न विशेष अपिल गरेका छन् ।
शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश जारी गर्दै हमालले नेपाल भौगोलिक विविधताको मात्र नभई साझा भविष्यमा विश्वास गर्ने सबै नेपालीहरूको साझा घर भएको बताएका हुन् ।
हमालले नेपाल केवल हिमाल, पहाड, तराई वा मन्दिर, मस्जिद, चर्च र गुम्बाको देश मात्र नभएको उल्लेख गर्दै यो फरक-फरक भूगोल र विश्वास बोकेका नेपालीहरूको एउटा बलियो संकल्प भएको तर्क गरे। यदि यो आपसी विश्वास र सद्भाव कमजोर भएमा सम्पूर्ण नेपाली र समग्र राष्ट्र नै कमजोर हुने उनको धारणा छ।
आगामी पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्ने भन्ने कुरा आज हाम्रो व्यवहारले तय गर्ने हमालको भनाइ छ। “हामी आउँदो पुस्तालाई विश्वासको वातावरण छोड्न चाहन्छौं कि घृणाको? यो हाम्रो हातमा छ,” उनले भनेका छन् ।
सुनसरीमा घटेको घटनाले कुनै एउटा क्षेत्र वा परिवारलाई मात्र नभई सम्पूर्ण राष्ट्र र नेपाली मनलाई दुःखी बनाएको भन्दै उनले मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेाका छन्।
कठिन समयमा गरिने निर्णयले नै इतिहासमा हाम्रो मूल्याङ्कन हुने बताउँदै महानायक हमालले प्रतिशोधको साटो न्याय र विभाजनको साटो सहअस्तित्व रोज्न सबैलाई आग्रह गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्