मलेसिया प्रकरणमा बालेनको चयनमुखी पत्र- पूर्वमन्त्री अर्याल र भण्डारीलाई उन्मुक्ति, राय र कुँवर हिरासतमा
प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषदको कार्यालयको पत्र बमोजिम नेपाली श्रमिकलाई मलेसिया पठाउने नाममा भएको असुली प्रकरणमा दुई पूर्वमन्त्री र चार जना कर्मचारी प्रहरी हिरासतमा छन्।
मलेसिया जाने श्रमिकमाथि भएको ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय रामेश्वर राय यादव, शेरबहादुर कुँवर, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पक्राउ गरिएको थियो।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा मंसिर २ मा पक्राउ परेका उनीहरुमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।
तर, २०७२ असारमा ६ महिनाका लागि परीक्षण परियोजनाका रूपमा उक्त प्रणाली सञ्चालन गर्न अनुमति पाएपछि दुई लाख २२ हजारभन्दा बढी श्रमिकबाट करिब एक अर्ब रुपैयाँ संकलन गरिएको भेटिएको छ।
उक्त रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ रहेको सीआईबीले जनाएको छ। उक्त प्रकरणमा गत असोज २९ मा प्रहरीले म्याक्रोटेक कम्पनीका सञ्चालक कैलाश खड्का, रविन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रका आधारमा अनुसन्धानमा सीआईबीले २०७६ सालमा मन्त्री बनेका रामेश्वर राय यादव र २०७९ मा मन्त्री बनेका शेरबहादुर कुँवरलाई मात्रै पक्राउ गरेको छ।
२०७६ मा मलेसियासँग नीतिगत निर्णयलाई २०८१ सालसम्मका मन्त्रीहरूले कार्यान्वयनमा लगेको देखिन्छ। तर, २०७७ पुस १० देखि २०७८ जेठ ८ गौरिशंकर चौधरी, २०७८ जेठ २१ देखि असार ८ सम्म विमलप्रसाद श्रीवास्तव र २०७८ असोज २२ देखि २०७९ असार १३ सम्म किसान श्रेष्ठ श्रममन्त्री थिए। उनीहरूको कार्यकालमा पैसा विदेश पठाएको देखिएको छैन।
तर, २०७९ माघ ३ देखि फागुन २२ सम्म पहिलो पटक र २०८० फागुन २३ देखि असार ३१ सम्म दोस्रो पटक मन्त्री भएका हालका सभामुख डोलप्रसाद अर्याल र २०७९ चैत १७ देखि २०८० चैत ७ सम्म श्रममन्त्री भएका सदाबार मन्त्री शरदसिंह भण्डारीको कार्यकालमा भने ठुलो मात्रा पैसा पठाएको भेटिन्छ। प्रहरी हिरासतमा भने राय र कुँवर मात्रै छन्।
२०७७ मा मन्त्री भएका गौरीशंकर चौधरी, २०७८ मा मन्त्री भएका विमलप्रसाद श्रीवास्तव र सोही वर्ष मन्त्री भएका कृष्णकुमार श्रेष्ठबाट नीतिगत निर्णय भए नभएको सीआईबीले हेरिरहेको छ।






प्रतिक्रिया दिनुहोस्