फास्ट ट्र्याक’ले लियो गति
काठमाडौं : काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङमा ब्रेक थ्रु भएको छ। राष्ट्रिय गौरवको आयोजना निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएसँगै राजधानी काठमाडौंलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने देशकै पहिलो द्रुतमार्ग निर्माणले थप गति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटरको महादेवटार सुरुङ ब्रेक थ्रु गरेका छन्। यस आयोजनाले काठमाडौं र तराई–मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरण, व्यापारिक गतिविधिको विस्तार र राष्ट्रिय एकता सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। द्रुतमार्गको केटीएफटी–१ निर्माण खण्डअन्तर्गत ४.३४५ किलोमिटर सडक संरचना निर्माण भइरहेको छ। इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) ठेक्का पद्धतिमा निर्माण भइरहेको यस खण्डमा दोहोरो चार लेनको सडक, छुट्टाछुट्टै दुईवटा सुरुङ बोर, चारवटा ठूला पुल तथा आवश्यक सडक र सुरक्षा पूर्वाधार समावेश छन्।
यस खण्डमा आवागमनका लागि बायाँ र दायाँ गरी दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएको छ। बायाँ बोर ३.४८६ किलोमिटर र दायाँ बोर ३.४२२ किलोमिटर लामो छ। दुवै सुरुङको भित्री क्लियरेन्स ११ मिटर चौडा र पाँच मिटर अग्लो रहने प्राविधिक विवरणमा उल्लेख छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवका यो आयोजनाअन्तर्गत रहेको मकवानपुर भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेव सुरुङको जोडी सुरुङमध्ये सबैभन्दा लामो ३.४२२ मिटर लामो रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङ राष्ट्रपति पौडेलबाट ब्रेक थु्र भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका सहायकरथी राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार बायाँ बोर ब्रेक थ्रु भइसकेको छ।






प्रतिक्रिया दिनुहोस्