फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन
यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले घरबास बगाएपछि उनीहरूको दसैँ खल्लो बनेको छ । जिन्दगीभरको कमाइ र मेहनतले बनाएको घर गुमाएका उनीहरूलाई चाडपर्वको खुसीभन्दा घरबारविहीन हुँदाको पीडाले बढी सताएको छ ।
बेनी नगरपालिका-१ बेलबोटकी देवी थापाले फर्सेमा गाईभैँसी पालेर दुई दशक बिताइन् । बाढीले घर बगाएपछि अहिले नी माइतीको आश्रयमा छन् । घर गुमाउँदाको पीडाले यस वर्ष दसैँ मनाउने जाँगर नचलेको उनले बताइन् ।
“जिन्दगीभरको कमाइ र मेहनतले जोडेको घर बाढीले बगायो । अहिले माइतीमा आश्रय लिएर बसेका छौँ,” उनले भनिनन्, “घर गुमेको पीडाले चाडपर्व मनाउने मनस्थिति छैन । यसपालि जमरा पनि राखेकी छैन ।” ६६ वर्षीय तीर्थबहादुर केसीको पीडा पनि उस्तै छ । बाढीले घर बगाएपछि उहाँ छ जनाको परिवारसहित छिमेकीको घरमा डेरा लिएर बसेका छन् ।
“घरगोठ र सम्पत्ति सबै गुमायौँ । अहिले छिमेकीको घरमा बसेका छौँ,” उनले भने, “यस्तो अवस्थामा दसैँ मनाउने अवस्था नै छैन ।” कालीगण्डकी नदीको बाढीले बस्तीलाई बगरमा परिणत गरेपछि फर्सेका करिब एक सय परिवारको अवस्था यस्तै छ । जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीका अनुसार बाढीले फर्सेका ७५ घर पूर्ण रूपमा क्षति भएका छन् भने २७ घर जोखिममा छन् ।
बाढीका कारण विस्थापित भएका ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् । घरबारविहीन भएका परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेहरूलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ । “बाढीपीडित सर्वसाधारण मात्र होइन, प्रभावितको व्यवस्थापनमा खटिएका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई पनि दसैँको रौनकले छोएको छैन,” वडाध्यक्ष जिसीले भने, “पूर्वसूचना र सतर्कताका कारण मानवीय क्षति हुन पाएन । कालीगण्डकीको बाढीबाट फर्से सबैभन्दा बढी प्रभावित बस्ती बनेको छ ।”
रातको समयमा बाढी आएपछि ज्यान जोगाउन भागेका धेरै बासिन्दाले शरीरमा लगाएको कपडा र हातमा भएको मोबाइलबाहेक केही निकाल्न पाएनन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, नगद र महत्त्वपूर्ण कागजात बाढीमै बगे । “शरीरमा भएको कपडा मात्रै लगाएर झरीमा भिज्दै राति दुई बजे सडकमा निस्कियौँ,” स्थानीय डल्ली दमाईले भनिनन्, “घरमा अन्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, नगद र महत्त्वपूर्ण कागजात थिए । तर, हामीसँग ज्यान जोगाउने समय मात्रै थियो ।”
हाल विस्थापित परिवार दिनमा एकपटक बाढीले बगाएको घर भएको ठाउँमा पुग्छन् । भग्नावशेष हेर्छन् । पुराना दिन सम्झन्छन् । अनि भारी मन लिएर फर्किन्छन् । कृष्ण दमाई, राजेन्द्र श्रेष्ठ, सूर्य थापा, धनकुमारी अधिकारी र टीकाराम क्षेत्रीको अवस्था पनि उस्तै छ । उनीहरूले पनि शरीरमा लगाएको कपडाबाहेक घरबाट केही निकाल्न पाएनन् । “आफ्नै घर भएको ठाउँमा कालीगण्डकी बगेको देख्दा मन भारी हुन्छ,” उनीहरूले भने, “डुबानमा परेका घरको हिलो पन्छाउँदा पुरिएका सामान भेटिन्छन् कि भन्ने आशा अझै छ ।”
बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुल बगाएको छ । इतिहास र स्थानीय जनजीवनसँग जोडिएको उक्त पुल अब सम्झनामा मात्रै सीमित भएको छ । बाढीबाट नभत्किएका घरभित्र पनि पानी र हिलो पसेकाले बस्न नसकिने अवस्था छ । बचेका घर जोखिममा छन् ।






प्रतिक्रिया दिनुहोस्