३० वर्षे इनमको कनेक्सनले कसरी हल्लियो राज्य संयन्त्र ?
एउटा ३० वर्षीय युवा, सम्पर्कमा पूर्वप्रधानन्यायाधीशदेखि राजनीतिक नेता र सुरक्षा निकायका उच्च अधिकारीसम्म ! न उनी मन्त्री, न सांसद, न कुनै सुरक्षा निकायका हाकिम । तर, उनै युवाको कनेक्सनले राज्यका शक्तिशाली पात्रहरूको कुर्सी हल्लिएको छ । पूर्वप्रधानन्यायाधीश प्रहरी नियन्त्रणमा पुग्नुपरेको छ, सशस्त्र प्रहरीका एआईजीको जागिर धरापमा परेको छ । आखिर इनाम सापकोटाले कसरी बनाए शक्तिकेन्द्रसम्म पहुँच ? अनि एउटा युवाको सम्पर्क सञ्जालले कसरी राज्यको न्यायालय, राजनीति र सुरक्षा संयन्त्रमाथि एकैसाथ प्रश्न उठाइदियो ?
झापा दमकका ३० वर्षीय इनम सापकोटा अहिले प्रहरी हिरासतमा छन् । इनममाथि अनुसन्धान अघि बढ्दै जाँदा उनको सम्पर्क सञ्जालले यो प्रकरणलाई झनै रहस्यमय बनाएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, पूर्वन्यायाधीश नवराज थपलिया, नेपाली कांग्रेसका नेताहरू, विवादास्पद व्यवसायी दीपक भट्ट र सुरक्षा निकायका उच्च अधिकारीसँग उनको सम्पर्क सञ्जाल जोडिएको पाइएको छ ।
तर, इनमको महत्त्व उनको फोनका ‘कन्ट्र्याक्ट लिस्ट’ले मात्रै निर्धारण गर्दैन । उनीसँग जोडिएका व्यक्तिहरूको पद, संवादको स्वरूप र त्यसले राज्यका निर्णयहरूमा पारेको प्रभावबारे उठेकै प्रश्नहरूले यो प्रकरणलाई थप गम्भीर बनाएको छ । पहुँचवाला व्यक्तिहरूसँग चिनजान हुनु र त्यही चिनजानको प्रयोग गरी कानुनी प्रक्रिया नै प्रभावित पार्न खोज्नु फरक कुरा हुन् । पहिलो व्यक्तिगत सम्बन्ध मात्र हुन सक्छ, तर दोस्रो कुरा प्रमाणित भए कानुनी र संस्थागत अपराध ठहरिन्छ । प्रहरी अनुसन्धानले छुट्याउनुपर्ने मुख्य विषय पनि यही नै हो ।
इनम चर्चामा आउनुको मुख्य कारक विवादास्पद व्यवसायी दीपक भट्टसँगको उनको सम्पर्क हो । आर्थिक अनियमितता, सम्पत्ति शुद्धीकरण तथा बिमा ठगीजस्ता गम्भीर आरोपमा अनुसन्धान र मुद्दा खेपिरहेका भट्ट थुनामै छँदा पनि बाहिरबाट चलखेल भएको आशङ्का गरिएको छ । भट्ट पक्राउ परेपछि उनको कानुनी प्रक्रिया र मुद्दा प्रभावित पार्न विभिन्न शक्ति समूहबिच संवाद भएको विषयलाई प्रहरीले अनुसन्धानको केन्द्रमा राखेको छ । सोही क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र इनमबिच भएको सम्पर्क भएको पाइएको छ ।






प्रतिक्रिया दिनुहोस्