प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू

 प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र  भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनले मोदीसँग भेटवार्ता जारी राखेका छन्। नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार,परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डे सहभागी छन् । भारतीय पक्षबाट विदेशमन्त्री डा .एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन्।

frontline

प्रधानमन्त्री मोदीसँगको भेट अगाडि बालेनले राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ लिएका थिए। त्यसलगत्तै प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने जनाइएको छ। प्रतिनिधिमण्डलस्तरबाहेक  एक्ला एक्लै (वान टु वान) पनि दुई प्रधानमन्त्रीबीच छलफल हुने बताइएको छ। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही संयुक्त समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम छ। 

त्यसपछि दुवै प्रधानमन्त्रीले पत्रकारहरूको उपस्थितिमा सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल र भारतबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षरपछि भारतीय समकक्षी मोदीले आह्वान गरेको दिवा भोजमा प्रधानमन्त्री बालेन सहभागी हुनेछन्।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटपछि उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आजै स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here