पहिले ज्यान जोगाउने एन्टिबायोटिक अहिले बन्दै छ मृत्युको कारक

1138,580,0,0.45,-1

ज्वरो आउने, श्वावप्रश्वासमा समस्या हुने र त्यसपछि देखिने निमोनियाले ज्यान लिन्थ्यो। यो मात्रै होइन, अन्य कुनै पनि रोगको उपचार गर्न औषधि थिएन। मानिस उपचार नपाएर मर्थे।

मानिसको ज्यान जोगाउन वैज्ञानिकहरू औषधिको आविष्कारमा लागेका थिए। तर सफलता हासिल हुन सकेको थिएन। 

frontline

संसार रोगसँग जुधिरहेको त्यो बेला लन्डनको सेन्ट मेरी अस्पतालको प्रयोगशालामा सूक्ष्म जीवविज्ञ डा. अलेक्ज्यान्डर फ्लेमिङ ब्याक्टेरियाको कल्चर गरिरहेका थिए। त्यही क्रममा फ्लेमिङले स्ट्याफिलोकोकस ब्याक्टेरियाको कल्चरमा एउटा फंगस (ढुसी) बढिरहेको देखे। 

फंगसले ब्याक्टेरियाको वरिपरि वृद्धि रोकिरहेको स्पष्ट देखियो। उनले त्यसलाई ध्यानपूर्वक अध्ययन गरे। फंगसले ब्याक्टेरियाको वृद्धिलाई रोक्न एउटा रसायन उत्पन्न गरिरहेको निश्कर्ष निकाले। यसलाई उनले पेनिसिलिन नाम दिए।

फंगसबाट उत्पादित यो रसायनले ब्याक्टेरियाको वृद्धिलाई रोेकेको थियो। त्यो समयमा प्राणघातक रोग भनेर चिनिएका निमोनिया, गोनोरिया र सेप्सिसजस्ता संक्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न उपयोगी बनेको थियो। 

सन् १९२८ मा फ्लेमिङ्ले पत्ता लगाएको त्यही पेनिसिलिन नै विश्वको पहिलो एन्टिबायोटिक औषधि बन्न पुग्यो। यसले औषधि विज्ञानमा नयाँ युगको सुरुवात पनि गर्‍यो। 

पेनिसिलिनको व्यावसायिक उत्पादन सन् १९४० देखि मात्र हुन थाल्यो। अमेरिकाले व्यापक रूपमा पेनिसिलिन उत्पादन गरेको थियो। त्यो दोस्रो विश्वयुद्धको समयमा पेनिसिलिनबाट घाइते सैनिकको उपचार गरिएको थियो। 

प्राणघातक रोगको रूपमा चिनिएको निमोनियाको संक्रमणलाई रोक्न पनि पेनिसिलिन उपयोगी बनेको थियो। पेनिसिलिनले विभिन्न संक्रमणजन्य रोगको प्रभावकारी उपचार सम्भव बनायो र हजारौँ मानिसको ज्यान जोगाउन मद्दत गर्‍यो। 

यसको खोजका लागि डा. फ्लेमिङ, फ्लोरे र चेनलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो। पेनिसिलिनले अन्य धेरै एन्टिबायोटिक्सको विकासको ढोका खोलेको थियो। त्यससँगै आधुनिक औषधि विज्ञानको युग सुरु भयो। 

त्यसपछि विस्तारै अन्य एन्टिबायोटिक पनि पत्ता लाग्दै गए। वैज्ञानिक वाक्सम्यानले माटोमा पाइने सूक्ष्म जीवका माध्यमबाट संक्रमणकारी रोगको उपचार गर्न सकिने स्ट्रेप्टोमाइसिन एन्टिबायोटिक औषधि पत्ता लगाए। यसले क्षयरोगको उपचार सम्भव बनायो। 

त्यसका लागि सन् १९५२ मा वाक्सम्यानलाई नोबेल पुरस्कार प्रदान गरियो। उनलाई एन्टिबायोटिकका पिता पनि भनिन्छ।

यस्तै, सन् १९५० देखि १९६० को दशकमा क्लोरामफेनिकोल, एजिथ्रोमाइसिन सेफलोस्पोरिन र म्याक्रोलाइड्स जस्ता एन्टिबायोटिक्स पत्ता लाग्दै गए। जसले संक्रमणजन्य रोगको  उपचार गर्न सहयोग गर्दै लग्यो। 

तर, अहिले आएर डा. फ्लेमिङले आविष्कार गरेको त्यही औषधि जथाभावि प्रयोग गर्न थालिएको छ। लाखैको ज्यान बचाएको औषधि नै अहिले विश्वमा मृत्युको कारण बन्दै गएको छ। 

यसको जथाभावि प्रयोग रोक्न एन्टिबायोटिक औषधि प्रयोगबारे जनचेतना फैलाउन सन् २०१५ देखि एन्टिबायोटिक जनचेतना सप्ताह मनाउन थालिएको छ। एन्टिबायोटिक औषधिको जिम्मेवार प्रयोगबारे जनचेतना फैलाउनु र एन्टिबायोटिक प्रतिरोधको गम्भीर समस्यालाई सम्बोधन गर्न विश्व स्वास्थ्य संगठनको पहलमा १८ देखि २४ नोभेम्बरसम्म विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सप्ताह मनाउने गरिएको छ। 

बढ्दो जथाभावी प्रयोग
एन्टिबायोटिक औषधि आविष्कारसँगै यसको जथाभावी प्रयोग पनि हुँदै आएको छ। सामान्य संक्रमणमा पनि चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक औषधि खाने गरिएको छ। जसका कारण सन् १९७० देखि १९९० सम्म एन्टिबायोटिक प्रतिरोध अर्थात एन्टिबायोटिक औषधिले काम नगर्ने समस्या देखिन थाल्यो। 

औषधिको जथाभावि प्रयोगले सामान्य संक्रमणको उपचार कठिन हुँदै गएको छ। औषधिले प्रभावकारी रुपमा काम नगर्दा मृत्युदर समेत बढ्न थालेको छ। यसले उपचार खर्च समेत बढाउँदै लगेको छ। जसका कारण सन् २००० पछि नयाँ एन्टिबायोटिकको विकास चुनौतीपूर्ण बनेको छ। 

एन्टिबायोटिकको जथाभावी प्रयोगले ब्याक्टेरिया एन्टिबायोटिक प्रतिरोधी बन्दै गएको चिकित्सकहरू बताउँछन्। हाल एन्टिबायोटिक प्रतिरोध ब्याक्टेरिया विश्वव्यापी चुनौती बनेको छ। 

प्रतिरोधी ब्याक्टेरियाको चुनौती समाधान गर्न नयाँ औषधि पत्ता लागेका छन्। तर, चिकित्सकको सल्लाहबिना प्रयोग गर्ने दर बढेका कारण यसको असर हाल नियन्त्रण बाहिर पुगेको छ। पहिले करोडौं मानिसको ज्यान बचाएको यो औषधि अहिले जथाभावी प्रयोगले गर्दा मृत्युको कारण पनि बन्न थालेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, ब्याक्टेरियल एन्टिमाइक्रोबियल प्रतिरोधका कारण सन् २०२१ मा विश्वभर ४७ लाख १० हजार मानिसको मृत्यु भएको छ। डब्लूएचओले सन् २०५० सम्म एक करोड व्यक्तिको ज्यान जानसक्ने अनुमान गरेको छ। नेपाल जस्ता विकासोन्मुख देशमा यसको प्रभाव अझ बढी हुने डब्लूएओको आकलन छ। 

किन प्रयोग गरिन्छ?
एन्टिबायोटिक औषधिको प्रयोग शरीरमा ब्याक्टेरियाद्वारा लाग्ने संक्रमणको उपचारका लागि गरिन्छ। यी औषधिहरू ब्याक्टेरियालाई मार्न वा तिनको वृद्धि रोक्नका लागि प्रयोग गरिन्छन्। 

ब्याक्टेरियाद्वारा लाग्ने रोगहरू जस्तैः निमोनिया, टन्सिलाइटिस, मेनिन्जाइटिस, क्षयरोग, डायरिया (ब्याक्टेरियाजन्य), यौनजन्य रोगहरू (सिफिलिस, गोनोरिया) को उपचारमा एन्टिबायोटिकको प्रयोग गरिन्छ। यस्तै ठूलो शल्यक्रिया वा चोटपटक भएको अवस्थामा संक्रमण रोक्न एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्छ। 

यस्तै मुटुको शल्यक्रिया, अंग प्रत्यारोपण, रगतको संक्रमण (सेप्सिस) को उपचार, ब्याक्टेरिया रगतमा फैलिँदा हुने गम्भीर समस्या नियन्त्रण गर्न एन्टिबायोटिक नै काम लाग्छ। तर मात्रा नर्‍याएर खाने, जथाभावी प्रयोग गर्ने क्रम बढ्दै गएकाले एन्टिबायोटिकले काम नै नगर्ने अवस्था आउन थालेको छ। 

किन काम गर्न छोड्यो एन्टिबायोटिक औषधि? 
ब्याक्टेरिया, भाइरस र ढुसीजस्ता सूक्ष्मजीवविरुद्ध प्रयोग गरिने एन्टिबायोटिक, एन्टिभाइरल र एन्टिफंगल औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ। एन्टिबायोटिक औषधिले काम नगर्ने अवस्थालाई चिकित्सकीय भाषामा एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) भनिन्छ। पछिल्लो समय यो समस्या विश्वभर नै गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको छ।

ब्याक्टेरिया, भाइरस, ढुसी र परजीवि जस्था सूक्ष्मजीवहरू एन्टिबायोटिक्सलगायत एन्टिकाइक्रोबियल जस्ता प्रतिजैविक औषधिप्रति प्रतिरोधी बन्नु नै प्रतिजैविक प्रतिरोध हो। चिकित्सकको सल्लाहबिना सामान्य रुघाखोकी र भाइरल संक्रमणमा पनि जनाथावी एन्टिबायोटिक खानु नै यसको मुख्य समस्याको बनेको छ। 

चिकित्सकले तोकेको अवधिसम्म नखाएर बीचमै औषधि छोड्दा केही ब्याक्टेरिया जीवित रहन्छन र पछि अझ बलियो भएर प्रतिरोध क्षमता बनाउँछन्। पाँच दिन वा सात दिनको लागि दिइएको औषधि बिरामीले दुई–तीन दिनमा अलि सन्चो हुनेबित्तिकै छोड्दिन्छन्। 

यसरी बीचमै औषधि छाड्दा शरीरमा रहेका सम्पूर्ण हानिकारक ब्याक्टेरिया मर्दैनन्। शरीरका रहेका केही बलिया ब्याक्टेरियाले ती औषधिको प्रतिरोध गर्ने क्षमता बनाउँदै लैजान्छन्। पछि उनीहरूलाई त्यही औषधिले छुँदैछुँदैन।

जब एन्टिबायोटिकले काम गर्न छोड्छ, शल्यक्रिया, निमोनिया, पिसाबको संक्रमण हुँदा औषधि प्रयोग गर्नुपर्‍यो भने औषधिले काम गर्न छोड्छ। चिकित्सकका अनुसार त्यो बेला ब्याक्टेरियाले आफ्नो जिनमा परिवर्तन गरेर औषधिलाई निष्प्रभावी बनाइसकेका हुन्छन् र औषधिले काम नगर्ने अवस्था आउँछ। यो नै अहिले विश्वभरको चुनौती बनेको चिकित्सक बताउँछन्। 

त्रिभुवन विश्वविद्यालयमा क्लिनिकल फार्माकोलोजीका सहप्राध्यापक डा. सतिश देव एन्टिबायोटिकले काम गर्न छोडेपछि एक हप्तामै निको हुने संक्रमणको उपचार लम्बिन थाल्ने बताउँछन्। ‘उपचार महँगो हुन्छ र अस्पताल बसाइ लम्बिन्छ। कतिपय अवस्थामा ज्यानै जान सक्छ,’ डा. देव भन्छन्। 

विश्व स्वास्थ्य संगठनको निगरानी प्रणालीअनुसार, सन् २०२३ मा सामान्य ब्याक्टेरियल संक्रमणमा हरेक ६ मध्ये एउटामा एन्टिबायोटिकले काम नगरेको पाइएको छ। एन्टिबायोटिक औषधिको अनावश्यक र अत्यधिक प्रयोगले ब्याक्टेरियाहरू औषधिप्रति प्रतिरोधी बन्दै गएका छन्। जसले संक्रमणजन्य रोगहरूको उपचार कठिन र महँगो बनाउँदै लगेको छ। 

डब्लूएचओमा कार्यरत डा. पल्पसा कंसाकार तुलाधर एन्टिबायोटिकले हानिकारक ब्याक्टेरियासँगै शरीरमा फाइदा पु‍र्‍याउने ब्याक्टेरियालाई पनि नष्ट गर्ने बताउँछिन्। 

‘एन्टिबायोटिकले एलर्जी गराउन सक्छ। जस्तैः छाला रातो वा सुन्निनु, श्वासप्रश्वासमा समस्या, मिर्गौला र कलेजोलाई पनि कमजोर बनाउन सक्छ,’ डा. तुलाधर भन्छिन्, ‘विशेषगरी दीर्घरोगी र वृद्ध व्यक्तिलाई यसले गम्भीर प्रभाव पार्न सक्छ।’

उनका अनुसार, एन्टिबायोटिकको बारम्बार प्रयोगले शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ। यस्तै एन्टिबायोटिकले ब्याक्टेरियालाई पूर्ण रूपमा नष्ट नगर्दा संक्रमण बारम्बार दोहोरिन सक्छ। 

चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक औषधि खान नहुने डा. तुलाधर बताउँछिन्। ‘एन्टिबायोटिक कहिल्यै पनि आफैँले किन्न र प्रयोग गर्न हुँदैन,’ उनी भन्छिन्, ‘डाक्टरले संक्रमणको प्रकार पहिचान गरेर उचित एन्टिबायोटिक सिफारिस गरेपछि मात्र एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्छ।’

यससँगै औषधि बीचैमा छोड्न नहुने उनी बताउँछिन्। ‘चिकित्सकले भनेको औषधि लिनुपर्छ,’ डा. तुलाधर भन्छिन्, ‘तोकिएको समयसम्म एन्टिबायोटिक औषधि सेवन नगरेमा ब्याक्टेरिया बलियो र प्रतिरोधी बन्ने हुँदा औषधि तोकिएको समयसम्म प्रयोग गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here