परोहा नगर प्रमुखमाथि सुरक्षित आवास कार्यक्रमको रकम दुरुपयोगको गम्भीर आरोप

✍ मेवालाल यादव
रौतहट,

परोहा नगरपालिका–३ तेजापाकड निवासी सागर पासवानले परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलमाथि दलित, गरिब र निमुखाहरूका लागि लक्षित ‘सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत आएको बजेटमा गम्भीर अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाएका छन्।

frontline

नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित सुरक्षित आवास कार्यक्रमबाट प्रत्येक नगरपालिकामा ७५ वटा घर निर्माणका लागि प्रतिघर ७५ हजार रुपैयाँको दरले करिब ५६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उक्त कार्यक्रम विशेष गरी गरिब, दलित र पिछडिएको वर्गलाई लक्षित गरी लागू गरिएको हो, जसअनुसार न्यूनतम लागतमा टिन, पिलर र आवश्यक संरचनासहित सुरक्षित घर निर्माण गरिन्छ।

तर पासवानको आरोप अनुसार नगर प्रमुख वकिलले यो बजेटको दुरुपयोग गर्दै कागजमा मात्र घर बनाएको देखाई रकम निकासा गरेका छन्। “नगरप्रमुखले आ-आफ्ना निकट कार्यकर्ताहरूलाई ५०–५० हजार रुपैयाँ वितरण गरे भने बाँकी २५ हजार रुपैयाँ आफूले राखेका छन्,” सागर पासवानको भनाइ छ।

यसै विषयमा परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुजसँग सोधपुछ गर्दा उनले करिब १४ लाख रुपैयाँ मात्र बाँकी रहेको जानकारी दिए। बाँकी रकम कुन शीर्षकमा र कहाँ खर्च गरिएको भन्नेबारेमा उनले जानकारी नभएको स्पष्ट पारे।

सुरक्षित आवास कार्यक्रम अन्तर्गत केही घरहरूमा कुनै किसिमको निर्माण कार्य नदेखिएपनि सम्बन्धित लाभग्राहीका नाममा रकम छुट्याइएको तथ्य खुलेको सन्दर्भमा स्थानीयवासीहरू चिन्तित छन्। “नगर प्रमुख शेख वकिल गरिब, दलित र निमुखाहरूका लागि ल्याइएका योजनाप्रति नै असंवेदनशील छन्,” पासवानले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here