पूर्वबाट मनसुन भित्रिदै
काठमाडौं । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँले वर्षा केही बढ्न थालेको र आउँदो हप्तादेखि भने ठाउँ–ठाउँमा ठूलो वर्षासमेत हुने जानकारी दिनुभयो ।
‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एकदुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ’, पौडेलले थप्नुभयो, ‘वर्षा बिस्तारै बढ्न थालेको छ, आउँदो हप्ता ठाउँ–ठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउन सक्छ, सचेत हुन अनुरोध गर्दछु ।’
उहाँका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।
मौसमविद् गङ्गा नगरकोटी अहिले देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको बताउनुहुन्छ ।
त्यसैले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ ।
काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा पनि वर्षा भएको छ ।
बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा हुने छ ।
सामान्यरूपमा गएको १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो ।
यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आउँदो आइतवार हो ।
अक्टोबर २ मा बाहिरिने छ ।
सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुन सक्छ ।
प्राप्त विवरणअनुसार बिहीबार दुई सय १४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित एक सय २९) मा मापन गरिएको गएको २४ घण्टाको वर्षाको विवरणअनुसार एक सय आठ केन्द्रमा वर्षा भएको छ ।
ती केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा एक सय १२ मिलीमिटर भएको छ ।






प्रतिक्रिया दिनुहोस्