ढिलो बाहिरियो मनसुन
काठमाडौं : यस वर्षको मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बुधबार नेपालका बाँकी भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया नेपालबाट अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ। तर, यस वर्ष अक्टोबर १४ मा मात्रै मनसुन पूर्ण रूपमा बाहिरिएको छ। पछिल्ला वर्षहरूमा मनसुन बाहिरिने क्रम क्रमशः ढिलो हुँदै गएको देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार विश्वव्यापी मौसम प्रणाली, तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण मनसुन बहिर्गमनमा प्रभाव परेको हो। ‘नेपालमा मनसुन लामो समय रहन थालेको छ। पहिला सेप्टेम्बर २५ मा मनसुन बाहिरिन्थ्यो, पछि विस्तारै अक्टोबर २ पुग्यो। अहिले अक्टोबरको मध्यतिर पुग्ने ट्रेन्ड देखिएको छ,’ उनले भने।
विभागका अनुसार नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन अक्टोबर ३ देखि नै सुरु भएको थियो। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भूभागबाट बाहिरिन सुरु गरे पनि देशैभरिबाट पूर्ण रूपमा बाहिरिन भने बुधबारसम्म लागेको विभागले जनाएको छ। विगत ३० वर्षको अवधिमा २१ पटक अक्टोबरमा मनसुन बाहिरिएकाले नेपालमा मनसुनको अवधि लम्बिएको पुष्टि हुन्छ। मनसुनको अवधि पछाडि धकेलिँदै जाँदा यसले विपद् जोखिमको समयलाई समेत बढाएको छ। यस वर्ष बूढीगण्डकीमा आएको आकस्मिक बाढीको घटनाले पनि विपद् जोखिम लम्बिएको प्रस्ट्याउँछ। यस्ता आकस्मिक बाढीका घटना आगामी दिनमा थप चुनौतीपूर्ण बन्दै जाने आकलन गरिएको छ।
यस वर्ष पूर्वी नेपालबाट सरदर मितिभन्दा ६ दिन ढिला अर्थात् जुन १९ मा मनसुन भित्रिएको थियो। सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र यसको अवधि १ सय १२ दिन रहने गर्छ। नेपालको इतिहासमा सबैभन्दा छोटो मनसुन अवधि सन् १९७९ मा ७३ दिन रहेको थियो भने सन् २०२५ मा १ सय ३५ दिनसम्म मनसुन लम्बिएको विभागको तथ्यांक छ। मनसुन बहिर्गमन भइसके पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव कायमै रहेकाले बिहीबार पश्चिम नेपाल तथा शुक्रबार गण्डकी लगायत अन्य हिमाली र पहाडी भेगमा छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताए।






प्रतिक्रिया दिनुहोस्