जाजरकोटमा जिप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, ३ घाइते
जाजरकोट : जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बिहीबार बिहानै एक बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बलेरो जिप गैरीगुवास्थित भित्री सडक खण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
आज बिहान करिब २ बजेतिर जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटनामा परी जिप चालक जाजरकोट जुनिचाँदे गाउँपालिका–९ का २० वर्षीयका सन्त बहादुर बस्नेत र वडा नं. ३ स्यालाकी ३० वर्षीया बिपना भण्डारीको मृत्यु भएको हो।
यस्तै, दुर्घटनामा परी जुनिचाँदे–३ स्यालाका ३० वर्षीय दिल बहादुर भण्डारी, उनका ४ वर्षीय छोरा शिशिर भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्