कोशी प्रदेशको कृषि, रोजगारी र पर्यटन क्षेत्र झनै कमजोर !
विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाउँदै आएको छ । उत्पादनमा वृद्धि, रोजगारी सिर्जनाको कुरा पनि सरकारले गरिरहेकै छ । यद्यपि नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले केही दिन अगाडि सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले कोशी प्रदेशको अर्थतन्त्रमा त्यस्तो परिवर्तन देखिएको छैन ।
प्रदेशको आर्थिक वृद्धिदर, बैंकिङ निक्षेप सङ्कलन र जलविद्युत् उत्पादनका क्षेत्रमा निकै राम्रो सुधार देखिए पनि प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पनि पर्ने कृषि, उद्योग, रोजगारी र पर्यटन क्षेत्रमा भने झनै कमजोर अवस्था बन्दै गएको देखिएको छ ।
कोशी प्रदेशको समग्र आर्थिक वृद्धिदरमा समीक्षा वर्षमा केही सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा २.७२ प्रतिशतमा सीमित प्रदेशको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/०८३ मा बढेर ३.१३ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, यो सुधार राष्ट्रिय औसत आर्थिक वृद्धिदर ३.८५ प्रतिशतको तुलनामा भने अझै कमजोर नै हो ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा १० खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यससँगै राष्ट्रिय अर्थतन्त्रमा कोशी प्रदेशको हिस्सा १५.८० प्रतिशत पुगेको छ । जसले बागमती प्रदेशपछि देशकै दोस्रो ठुलो आर्थिक हिस्सा ओगट्ने प्रदेशका रूपमा यसको स्थान मजबुत बनाएको छ ।
प्रदेशको कुल उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा धेरै करिब ५० प्रतिशत, कृषिको ३२.४७ प्रतिशत र उद्योगको योगदान १७.६७ प्रतिशत छ । मुलुकको समग्र कृषि क्षेत्रमा कोशी प्रदेशको हिस्सा २१.३६ प्रतिशत पुगेर देशकै पहिलो स्थानमा छ ।
पशुपन्छी र नगदे बाली बढ्दा प्रमुख खाद्यान्नमा सङ्कुचन
प्रदेशको कृषि क्षेत्रमा केही नगदे बाली र पशुजन्य उत्पादनमा सुधार आए पनि समग्र कृषि उत्पादन भने कमजोर बनेको छ । अघिल्लो आर्थिक वर्षमा ६.७ प्रतिशतले बढेको कुल कृषि उत्पादन समीक्षा वर्षमा १.२ प्रतिशतले खुम्चिएर ५५ लाख ९३ हजार मेट्रिक टनमा सीमित भएको छ । कृषि बालीले ढाकेको क्षेत्रफलमा समेत ०.३ प्रतिशतको सङ्कुचन आएको छ । विशेषगरी प्रदेशको मुख्य बाली मानिने धान उत्पादनमा ४.० प्रतिशतको गिरावट आई १४ लाख ७ हजार मेट्रिक टनमा झरेको छ । यसैगरी दलहन बालीको उत्पादनमा १६.८ प्रतिशत, सुर्तीमा १८.६ प्रतिशत, फलफूलमा ४.६ प्रतिशत र मसला बालीमा ०.७ प्रतिशतको ह्रास आएको छ ।
सिँचाइ सुविधाको बिस्तार अझै पनि कमजोर छ । प्रदेशको कुल खेतीयोग्य जमिनमध्ये केवल ३६.५ प्रतिशत भूभागमा मात्र सिँचाइ पुगेको छ, जसका कारण कृषि क्षेत्र अझै पनि मौसममा अत्यधिक निर्भर रहनुपरेको छ ।
यसविपरीत गहुँ, जौ, मकै, आलु, उखु र कफी उत्पादनमा भने सुधार देखिएको छ । गहुँ उत्पादन २.५ प्रतिशत, जौ १३.७ प्रतिशत र कफी उत्पादन १०.७ प्रतिशतले बढेको छ । त्यस्तै व्यावसायिक मौरीपालन फस्टाउँदा मह उत्पादनमा २५.९ प्रतिशतले वृद्धि भएको छ । पशुपालन र मत्स्य क्षेत्रमा प्रदेश आत्मनिर्भरतातर्फ उन्मुख हुँदै दुध उत्पादन १३.२ प्रतिशत, मासु ०.२ प्रतिशत र माछा उत्पादन १.६ प्रतिशतले वृद्धि भएको छ । तर, बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा १.१ प्रतिशतले घटेर ५५ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ ।
उद्योग र श्रम बजारमा झिनो सुधार, रोजगारीमा मन्दी
औद्योगिक क्षेत्रतर्फ उद्योगहरूको औसत क्षमता उपयोगमा अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि समग्र रोजगारी र उत्पादनको अवस्था भने कमजोर बनेको छ ।
अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४१.८ प्रतिशतबाट बढेर ४३.१ प्रतिशत पुगेको छ । खासगरी प्रशोधित भटमासको तेल उद्योगले क्षमताभन्दा बढी अर्थात् ११८ प्रतिशत र तोरीको तेल उद्योगले ९२ प्रतिशत क्षमता उपयोग गरेका छन् । यसका साथै वनस्पति घिउ, चामल, चाउचाउ, चिनी, पशुदाना र घरेलु धातुका सामानको उत्पादनमा वृद्धि भएको छ ।
औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जासमेत ८.२ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ ।






प्रतिक्रिया दिनुहोस्