कुमार बेनलाई पक्राउ गर्न माग गर्दै वाईसीएल सचिवले दिए प्रहरीमा जाहेरी
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।
वाईसीएलका केन्द्रीय सचिव सुर्खेतका धनबहादुर वलीले हुलाक मार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँमा एकसाथ जाहेरी पठाएका हुन्।
यसअघि सोमबार जाहेरी दिन काठमाडौँ प्रहरी परिसरमा गए पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो। त्यसपछि हुलाकमार्फत उनले चाहेरी पठाएका हुन्। जाहेरवाला वली नेपाली कम्युनिष्ट पार्टी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) सचिव हुन्।
बेनसहितले प्रहरी हिरासतमा रहेका झापाका इनम सापकोटाको मोवाइलबाट प्रमाण मेटाएको आरोप छ। सुरुमा अभद्र व्यवहार र पछि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अगाडि बढाइएका सापकोटाको मोवाइलबाट आफूसँग सम्बन्धीत प्रमाण मेटाउने र अनुसन्धानलाई प्रभावित गर्ने काम बेनबाट भएको आरोप जाहेरीमा लगाइएको छ।
सापकोटालाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि उनको मोवाइल प्रधानमन्त्रीका प्रमुख सहल्लाकार बेनसहितको संलग्नतामा कहाँ कहाँ पुर्याइयो भनेर पनि जाहेरीका साथमा प्रमाणसमेत पेश गरिएको छ।
फरेन्सिक ल्यावको परीक्षण रिपोर्ट उल्लेख गरिएका प्रमाणमा असोज १५ गते दिउँसो ४ः३०ः४५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगेको दाबी जाहेरीमा गरिएको छ।
सोही दिन दिउँसो ५ः१०ः१८ बजे सिंहदरबारको दक्षिण गेट हुँदै बाहिर लगेको र ५ः२५ः५ बजे ललितपुरको कुपण्डोल, ज्वागलस्थित बेनको घरमा पुर्याएको पनि दाबी गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयकै विशाल अधिकारीले प्रहरीको सोधपुछ कक्षमै पुगेर इनम सापकोटामाथी भइरहेको अनुसन्धानका विषयमा कुराकानी गरेको भिडिओ समेत सार्वजनिक भएको छ।
जाहेरीमा यो विषय समेत उल्लेख गर्दै प्रधानमन्त्रीको सचिवालयका चिराग श्रेष्ठको समेत संलग्नता रहेको दाबी गर्दै अनुसन्धानको माग गरिएको छ। गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीमाथी पनि प्रमाण नष्ट तथा अनुसन्धान प्रभावित पारेको कसुरमा अनुसन्धान गर्न वलीले जाहेरीमा माग गरेका छन्।
‘अनुसन्धानका क्रममा रहेका डिजिटल प्रमाणहरूमा अनधिकृत पहुँच पुर्याउने, प्रमाणजन्य सामग्री मेटाउने, परिवर्तन गर्ने, लुकाउने वा प्रमाणका रूपमा प्रयोग गर्न नसकिने बनाउने कार्य गरी अनुसन्धानलाई प्रभावित पार्ने, वास्तविक कसुरदारलाई कानूनी कारबाहीबाट उन्मुक्ति दिलाउने तथा निर्दोष व्यक्तिलाई झुटा वा कृत्रिम प्रमाणका आधारमा फसाउने उदेश्यबाट प्रेरित भएको देखिएको हुँदा प्रहरी नियन्त्रणमा रहेका दशी तथा डिजिटल प्रमाणहरूमा अनधिकृत हस्तक्षेप गरी प्रमाण दबाउने, नष्ट गर्ने, परिवर्तन गर्ने वा अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने कार्यमा संलग्न व्यक्तिहरूमाथी प्रचलित कानुनबमोजिक अनुसन्धान गरी हदैसम्मको कानुनी कारबाही गरिपाउँ’, जाहेरीमा भनिएको छ।
कसुरदारलाई सजायबाट जोगाउने नियतले कसुरसम्बन्धी प्रमाण दबाउने, नष्ट गर्ने वा प्रमाणका रुपमा प्रयोग गर्न नसकिने गरी बिगार्ने कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ९३ बमोजिम दण्डनीय कसुर भएकाले अनुसन्धान आवश्यक रहेको निवेदकको जिकिर छ।
कसुरसँग सम्बन्धीत सबुद भन्दै इनमको मोवाइलको फेरेन्सिक ल्यावको रिपोर्टका स्क्रिनसर्ट पनि बुझाइएको छ। यस्तै प्रमाण नष्ट गरेका विवरण र अनुसन्धान प्रभावित पार्न प्रधानमन्त्री सचिवालयका कर्मचारी प्रहरी कार्यालय पुगेका फोटो, भिडिओ पनि जाहेरीसाथ पठाइएको छ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले प्रहरीले दर्ता नगरे कानुनी व्यवस्था अनुसार अन्य उपाय अपनाउन सक्ने बताए।
‘प्रहरीकोमा आउने सबै जाहेरी दरखास्त दर्ता हुँदैनन्। त्यसरी दर्ता गर्ने हो भने नेपालका सबैविरुद्ध जाहेरी दर्ता हुन्छ जस्तो लाग्छ, तर कानुनसम्मत देखिएन भने प्रहरीले दर्ता हुँदैन भन्छ, त्यसमा चित्त नबुझे सरकारी वकिल कार्यालय जाने अरु उपाय पनि छन्। त्यही गरे भइगयो नि’, एसपी थापाले भने।
सरकारी वकिल कार्यालयले दर्ता गर्नु भनेर निर्देशन दिन सक्ने पनि उनले बताए।






प्रतिक्रिया दिनुहोस्