काभ्रेमा विदेशीहरूको शंकास्पद गतिविधि बढेपछि निगरानी बढाइँदै
काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि बढेपछि स्थानीय प्रशासनले निगरानी बढाउने भएको छ।
मंगल र बुधबार विभिन्न स्थानमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा ठुलो सङ्ख्यामा विदेशी नागरिक फेला परेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुगमनलाई तीव्र बनाउने जनाएको हो। मंगलबार प्रशासन कार्यालय र काभ्रे प्रहरीले पाँचखालबाट शंकास्पद गतिविधि गरिरहेका ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो भने बुधबार बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३६ जना जापानी र ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विदेशी नागरिकहरू केही होटेल तथा घरहरूमा लामो समयदेखि भाडामा बसेर शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा प्रशासन कार्यालय, प्रहरी र पर्यटन कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको बताए। अनुगमनका क्रममा पाँचखालमा प्रहरीको उपस्थितिपछि भागाभाग भएको र पूरै होटेल जिम्मा लिएर बसेका व्यक्तिहरूसँग मोबाइल, ल्यापटप र डेस्कटप कम्प्युटर भेटिएको जानकारी उनले दिए। त्यस्तै, बल्थलीमा विदेशी प्रहरीका ब्याचहरू, जापानी भाषाका सामग्री, ुह्युगो पुलिस स्टेसनु लेखिएको भित्ते सामग्री, १५–१६ वटा टेलिफोन बुथजस्ता संरचना, ब्युटी पार्लर, मोबाइल, ल्यापटप र डेस्कटपलगायतका सामग्री फेला परेको अधिकारीले बताए।
उनले प्रहरी तथा सीआईबीले थप अनुसन्धान र नियन्त्रणको काम गरिरहेको तथा पक्राउ परेकाहरूलाई अध्यागमन विभागमा बुझाइने उल्लेख गरे। होटेल व्यवसायीहरूलाई आफ्नो होटेलमा बस्ने व्यक्तिको पहिचान, बसाइ अवधि र गतिविधिबारे जिम्मेवार र सचेत रहन तथा अवाञ्छित गतिविधि हुन नदिन आग्रह गरिएको उनको भनाइ छ।






प्रतिक्रिया दिनुहोस्