कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : पदाधिकारी चयनमै भाँडभैलो

निर्वाचन प्रक्रियामै प्रवेश नगरी सर्वसम्मत गराउन खोजेका नेताहरू आकांक्षी धेरै हुँदा पदाधिकारी चयनमै असफल भएका छन् ।नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको गण्डकी प्रदेश अधिवेशनमा पदाधिकारी चयनमै भाँडभैलो देखिएको छ । शनिबार देउवाले उदघाटन गरेको अधिवेशनले सभापति सर्वसम्मत चयन गरे पनि पदाधिकारी र सदस्य चयनमा भने अझै अन्योल सिर्जना भएको छ ।

अधिवेशन उदघाटनकै दिन निर्वाचन संयोजक वीरेन्द्र केसीले सभापतिमा मेषलाल श्रेष्ठ र महामन्त्रीमा पोषराज शर्माको नाम घोषणा गरेका थिए । तर, निर्वाचन प्रक्रियामै प्रवेश नगरी नाम घोषणा गरिएको भन्दै नेता–कार्यकर्ताले विरोध गरे ।

frontline

नेता–कार्यकर्ताको विरोधपछि निर्वाचन संयोजक केसीले सुनाएको निर्णय खारेज गरियो । भोलिपल्ट देउवा समूहका नेता तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका जीतबहादुर शेरचनले सभापतिमा मेषलालसहित सदस्यहरूको नाम घोषणा गरे ।

निर्वाचन प्रक्रियामै प्रवेश नगरी सर्वसम्मत गराउन खोजेका नेताहरू आकांक्षी धेरै हुँदा पदाधिकारी चयनमै असफल भएका छन् । उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायतका पदमा धेरै आकांक्षी भएपछि टुंगो लाग्न सकेको छैन ।

महामन्त्रीमा पनि तीन जनाको दाबेदारी

महामन्त्रीमा पोषराज शर्माको नाम सर्वसम्मत घोषणा गरिए पनि महामन्त्रीका दुई खुला पदका लागि तीन जना दाबेदार छन् । खुलातर्फ कास्कीका पोषनाथ शर्मा, लमजुङका थिरबाबु खाती परियार र पर्वतका मोहन गुरुङ महामन्त्रीका आकांक्षी छन् ।

आकांक्षी व्यवस्थापनकै लागि उपसभापति, महामन्त्रीलगायतका पद चार जना रहने व्यवस्था गरिएको छ । दुई जना खुला, एक जना समावेशी र एक जना मनोनित गरी चार जना महामन्त्री रहने व्यवस्था मिलाइएको छ ।

सहमहामन्त्री भने पाँच जना हुनेछन् । दुई जना खुला, एक महिला र दुई जना मनोनित गर्ने व्यवस्था गरिएको छ । एक जना कोषाध्यक्ष रहनेछन् । कुल १५ जना पदाधिकारी रहने व्यवस्था मिलाइएको छ । तर, नेताहरूको आकांक्षा व्यवस्थापन गर्न देउवा समूहलाई गण्डकीमा सकस परेको छ ।

संगठन विस्तार, नेताहरूको आकांक्षा व्यवस्थापन र सबैको प्रतिनिधित्व सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको नवनिर्वाचित सभापति मेषलाल श्रेष्ठले बताए । मनाङ र मुस्ताङबाहेक सबै जिल्लाबाट पदाधिकारीमा समेटिने गरी व्यवस्था मिलाइएको श्रेष्ठको भनाइ छ ।

‘एउटै जिल्लाबाट धेरै जना पदाधिकारीमा उम्मेदवार छन् भने सम्बन्धित जिल्लाले नै मिलाउने भनेका छौं । सबै जिल्लाको प्रतिनिधित्व हुने गरी कार्यसमिति बनाउने भनेका छौं,’ सभापति श्रेष्ठले भने, ‘ठूलो कारणले ढिला भएको होइन, सबै आकांक्षीलाई समेट्न खोज्दा ढिला भएको हो । उपसभापति र सहमहामन्त्रीमा धेरै जना आकांक्षी हुँदा सकस परेको हो ।’

लमजुङ जिल्लाको अधिवेशन १० गते तोकिएको र त्यसपछि पदाधिकारी चयनको टुंगो लाग्ने श्रेष्ठको भनाइ थियो ।

‘चाँडो टुंग्याउन खोजेका छौं । पदाधिकारीमा सबै जिल्लाले पाउने गरी बाँडिएको छ, मनाङ र मुस्ताङबाहेक । नोमिनेसनमा परेकाबाहेकलाई यताउता गर्न पाइँदैन । सबैभन्दा बढी समस्या उपसभापति र सहमहामन्त्रीमा हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सकभर साथीभाइको बीचमा छलफल गरेरै गर्दा जाति हुन्छ भनेर लागिएको छ ।’

सभापतिमा प्रतिस्पर्धाको प्रयास, तर मनोनयन नै भएन

गण्डकी सभापतिमा मेषलालसँग पर्वतका विश्व प्रसाइँले प्रतिस्पर्धा गर्ने आकांक्षा देखाएका थिए । तर, प्रसाइँले मनोनयन नै नगरेको निर्वाचन समितिको भनाइ छ ।

अधिवेशन उदघाटनकै दिन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक नगरेको, उम्मेदवारी दर्ताका लागि आवश्यक फारामसमेत उपलब्ध नगराएको अवस्थामा गरिएको घोषणाले अधिवेशनस्थलमै विवाद निम्त्याएको थियो ।

मञ्चमै रहेका गण्डकी प्रदेशका मन्त्री एवं बागलुङ कांग्रेसका पूर्वसभापति जीत शेरचन, प्रदेश सांसद तथा बागलुङ कांग्रेसका पूर्वसभापति दीपेन्द्र थापामगरलगायतले यसरी गरिएको घोषणाको विरोध गरेका थिए । विरोध चर्किएपछि निर्वाचन संयोजक केसीसहित केही नेता कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

निर्वाचन समितिको उक्त कदमप्रति आपत्ति जनाउँदै कांग्रेस केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले निर्णय फिर्ता लिएर आइतबार बिहानदेखि शून्य अवस्थाबाट निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । त्यसपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

उपसभापतिमा ११ र सहमहामन्त्रीमा १२ जना आकांक्षी

गण्डकी प्रदेशका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूको बैठक बसेर निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको थियो । त्यसअनुसार सभापतिमा मेषलालको मात्र उम्मेदवारी परेको हो । महामन्त्रीसहित अन्य पदमा भने धेरै जनाको उम्मेदवारी परेको छ ।

धेरै जनाको मनोनयन परेपछि सहमतिको प्रयास गरिए पनि नेताहरू असफल भएका थिए ।

चार पद रहेको उपसभापतिका लागि ११ जनाले उम्मेदवार छन् । उपसभापतिका आकांक्षीमा पत्रकारसमेत रहेका नेता गंगाधर पराजुली, युवा नेता आशिक गुरुङ, उमाकुमारी ठकुरी, राजुराज अधिकारी, बागलुङका नरेश कँडेल र ज्ञानेन्द्र गौतम, लमजुङका विष्णुप्रसाद धिताल र राजकुमार पाण्डे, गोरखाका सञ्जय सिलवाल तथा तनहुँका राजेन्द्रप्रकाश घिमिरे र चिजा श्रेष्ठ छन् ।

तीन जना निर्वाचित हुने सहमहामन्त्रीको खुला पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । म्याग्दीका लोकबहादुर मल्ल, गोरखाका दिवशबाबु भट्ट, स्याङ्जाका महेन्द्र श्रेष्ठ, तनहुँका भक्तबहादुर श्रेष्ठ र इन्द्रप्रसाद पौडेल, बागलुङका उमेश गौतम र नवीन गौतम, नवलपुरका राजु पाण्डे, नारायणप्रसाद पन्त र सतिश न्यौपाने, कास्कीका बाबुराम बस्ताकोटी तथा लमजुङका प्रकाश न्यौपानेले उम्मेदवारी दिएका छन् ।

‘सुरुमा सर्वसम्मत गर्ने प्रयास गरिएको थियो । तर, सर्वसम्मत भनेर घोषणा भएपछि विरोध भएको र निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो । सभापतिबाहेक कुनै पनि पदमा सर्वसम्मत भएको छैन,’ उपसभापतिका आकांक्षी गंगाधरले भने, ‘म महामन्त्रीमा उम्मेदवारी दिने सोचमा थिएँ । तर, नेताहरूले सबैलाई मिलाएर लैजानुपर्छ भनेपछि उपसभापतिमा उम्मेदवारी दिएको छु ।’

विभाजनपछि देउवा समूहको कार्यसमिति १ सय सदस्यीय

कांग्रेस सभापति चयन भएका मेषलाल यसअघि शुक्रराज शर्मा नेतृत्वको कार्यसमितिमा उपसभापति थिए । देउवा समूहबाट पदाधिकारीमा निर्वाचित हुने उनी एक्ला थिए ।

कांग्रेस विभाजनपछि मेषलालसहित अन्य पदाधिकारी सभापति गगनकुमार थापा नेतृत्वको  कांग्रेसमा लागेका छन् भने उपसभापति मेषलालसहित केही सदस्य गगन समूहमा लागेका हुन् ।

गण्डकीका पूर्वमन्त्रीसमेत रहेका मेषलाल स्याङ्जाका नेता गोपालमान श्रेष्ठसँग निकट मानिन्थे । नेपाली कांग्रेस देउवा समूहले ६७ सदस्यीय कार्यसमितिलाई बढाएर १ सय सदस्यीय बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here