उपभोक्ता ठग्नेले नै सरकारलाई टेरेनन्
काठमाडौं : उपभोक्ता ठगी गर्ने, गुणस्तरहीन वस्तु तथा सेवा बिक्री गर्ने र प्रचलित कानुनविपरीत व्यवसाय सञ्चालन गर्ने फर्ममाथि सरकारले कारबाही गरे पनि जरिबाना असुलिएको छैन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालसम्म जरिबाना गरिएका ५ हजार ९ सय २३ फर्ममध्ये ५ हजार १ सय १७ फर्मले जरिबाना तिरेका छन्। ८ सय ६ फर्मले अझै नबुझाएको बताइएको छ। जरिबाना नतिर्ने ती व्यवसायीबाट ४ करोड ६ लाख २७ हजार १ सय २७ रुपैयाँ असुल हुन बाँकी रहेको विभागले जनाएको हो।
विभागको प्रणालीमा २४ हजार ६ सय ५ फर्ममाथि अनुगमन गरिएकोमा ५ हजार ९ सय २३ फर्मलाई जरिबाना गरिएको देखिएको छ। करिब ८६ प्रतिशतले मात्रै जरिबाना बुझाएको विभागले जनाएको छ। बाँकी करिब १४ प्रतिशत फर्मबाट जरिबाना असुल हुन सकेको विभागका महानिर्देशक रीतेशकुमार शाक्यले बताए।
उनले पहिलेदेखिकै जरिबाना असुल गर्न बाँकी रहेको र आफू आएपछि असुलको प्रक्रियामा जान लागेको जानकारी दिए। उनले भने ‘पहिलेको बाँकी रहेको रकमको विषयमा लगत हेर्ने काम भइरहेको र लगत निकालेपछि कारबाही कसरी गर्ने भन्ने विषयमा निर्णय लिइने छ।’ विभागको समग्र जरिबाना रकम १९ करोड २२ लाख ८७ हजार रुपैयाँ रहेकोमा १५ करोड १६ लाख ६० हजार रुपैयाँ असुल भएको छ। तर ४ करोड ६ लाखभन्दा बढी रकम अझै उठ्न सकेको छैन। जरिबाना तोकिए पनि असुलीका लागि प्रभावकारी प्रक्रिया अघि नबढ्दा सरकारी कारबाही कागजी औपचारिकतामा सीमित भएको छ।






प्रतिक्रिया दिनुहोस्