आरक्षपीडितको अर्धनग्न आन्दोलन
पुनर्स्थापनाको माग अघि सारेर गत सातादेखि आन्दोलनमा रहेका कञ्चनपुरका आरक्षपीडितले अर्धनग्न आन्दोलन गरेका छन् । बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनसहित उनीहरूले प्रशासन कार्यालय अगाडि अर्धनग्न आन्दोलन गरेका हुन् ।
विस्थापित भएको २५ वर्षसम्म पनि पुनर्स्थापना नभएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयअगाडि अर्धनग्न भएर विरोध जनाएका छन् । पीडितहरूले हरेक निर्वाचनमा आफूहरूलाई आश्वासन दिने अनि पूरा नगर्ने प्रवृत्ति अहिले पनि दोहोरिएको भन्दै फरक शैलीमा विरोध गरेका हुन् ।
आसैआसमा रहेका आरक्षपीडितले नयाँ सरकार बनेको तीन साता बितिसक्दा पनि आफूहरूको समस्या समाधानमा सरकारले चासो नदिएको भन्दै आन्दोलन थालेको जनाएका छन् । आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्णदत्त भट्टले पीडितको आवाज सरकारले नसुनेपछि अर्धनग्न आन्दोलन गर्नुपरेको बताए । उनले नयाँ सरकारले समेत आफूहरूको समस्या समाधान गर्न ढिलाइ गरेको भन्दै सरकारलाई घचघच्याउन जिल्ला सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन, धर्नादेखि ज्ञापनपत्र बुझाएको, तर सरकारले आफूहरूको मागप्रति बेवास्ता गरेको गुनासो गरे ।
‘हामी विस्थापित भएको ०५८ देखि ०८२ सम्म भएका सबै निर्वाचनमा आश्वासन मात्रै दिइयो, पूरा भएनन्,’ उनले भने, ‘अहिलेको सरकार र जनप्रतिनिधिसँग आशावादी छौँ, यसपटक सरकारको ध्यानाकर्षण मात्रै गराएका छौँ ।’ आरक्षपीडितका युवा अभियन्ता सुजित श्रेष्ठले वर्तमान सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ बजारमा र्याली, धर्ना देखि प्रशासनमार्फत ज्ञापनपत्र दिइएको बताए । उनले आरक्षपीडितका सन्तानसमेत ०५८ देखि आधारभूत मौलिक हकबाट वञ्चित भएको बताए ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले पीडितलाई बर्सेनि आश्वासन मात्रै दिइएकाले अब न्याय नपाउँदासम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिए । उनले यसअघि अन्य दलहरूले पनि आफूहरूको मागमा कुनै सुनुवाइ नगरेको र अहिलेका दल, सरकारले समेत उस्तै प्रवृत्ति दोहोर्याइरहेको दुखेसो पोखे ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आरक्षपीडितको मागसहितका विषय केन्द्रीय सरकारसमक्ष राख्ने आश्वासन दिँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ता, संवाददेखि छलफलका माध्यमबाट समस्याको निकासका लागि पहल आवश्यक रहेको औँल्याए । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदत्रय जनकसिंह धामी, दीपकराज बोहरा र ज्ञानेन्द्रसिंह महताले संसद्मा आरक्षपीडितको मुद्दा उठान गर्ने भन्दै धैर्य गरिदिन आग्रह गर्दै आएका छन् ।






प्रतिक्रिया दिनुहोस्