अब संसदीय गतिविधि अनलाइनबाटै, सांसदहरूलाई मोबाइल एप

सांसदले संसद्मा उठाएका प्रश्नदेखि तिनको जवाफ, विधेयकको प्रगति, संसदीय समितिका निर्देशन र सरकारी निकायले गरेका काम डिजिटल प्लेटफर्मबाट हेर्न सक्ने व्यवस्था प्रस्तावित छ ।

संघीय संसद्का गतिविधि डिजिटल प्रणालीबाट अभिलेखित र अनुगमन गरिने भएको छ ।

frontline

यस निम्ति डिजिटल पार्लियामेन्टको अवधारणा तयार भएको छ । जसमा सांसदले संसद्मा उठाएका प्रश्नदेखि तिनको जवाफ, विधेयकको प्रगति, संसदीय समितिका निर्देशन र सरकारी निकायले गरेका काम डिजिटल प्लेटफर्मबाट हेर्न सक्ने व्यवस्था प्रस्तावित छ ।

संघीय संसद् सचिवालयको प्रविधि व्यवस्थापन महाशाखा प्रमुख विशाल सापकोटा नेतृत्वको सहजीकरण समितिले संसद्को विधायिकी कार्य, निगरानी र संस्थागत अभिलेख व्यवस्थापन सुधार गर्ने गरी अवधारणा तयार पारेको हो ।

‘तयार अवधारणा सचिवालयलाई बुझाइएको छ,’ सापकोटाले अनलाइनखबरसँग भने, ‘डिजिटल पार्लियामेन्टको अवधारणाको प्रमुख उद्देश्य संघीय संसद्को संसदीय गतिविधिलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने हो ।’

तयार अवधारणा समितिले कात्तिक तेस्रो साता नै संघीय संसद् सचिवालयलाई बुझाएको हो । तयार अवधारणा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई पनि दिइएको छ ।

अवधारणापत्रमा डिजिटल प्रणाली सञ्चालनका लागि साइबर सुरक्षा, तथ्यांकको संरक्षण, पहुँच नियन्त्रण, प्राविधिक जनशक्ति विकास र आवश्यक कानुनी तथा संस्थागत व्यवस्था मिलाउनुपर्ने विषय समेटिएका छन् ।

‘हामीले फुल्ली डिजिटल पार्लियामेन्टमा जाँदा के कस्ता कामकारबाही गर्नुपर्छ ? रणनीतिक योजना के कस्ता हुन्छन् ? मध्यकालीन र दीर्घकालका योजना के कस्ता हुन्छन् ? मार्गचित्र नै तयार गरेका छौं,’ सापकोटाले भने ।

उनका अनुसार तयार अवधारणाअनुसार अगाडि बढ्दा नयाँ कानुन आवश्यक पर्छ ।‘प्रणाली र प्रक्रिया नै फरक तरिकाले गर्दै जाँदा त्यसलाई कानुनले सम्बोधन गर्नुपर्छ । आवश्यक ऐन बन्नुपर्छ । यो पहिचान गरेर दिइएको छ,’ सापकोटा थप्छन्, ‘डिजिटल पार्लियामेन्टको फुल्ली कार्यान्वयनपछिको संयन्त्र कस्तो रहने ? साधनस्रोत कहाँबाट जुटाउने ? लगायतका विषय पनि समेटिएको छ ।

छुट्टै मोबाइल एप

संघीय संसद् सचिवालयले तयार पारेको अवधारणापत्रमा सांसदहरूका लागि छुट्टै मोबाइल एप विकास गर्ने प्रस्ताव छ । एपमार्फत सांसदले आफ्नो व्यक्तिगत विवरण, बैठक तथा समितिका सूचना, कार्यसूची र आवश्यक कागजात हेर्न सक्ने छन् । सांसदको हाजिरीसमेत विद्युतीय प्रणालीबाट अभिलेख गरिने छ । आवश्यकता र प्राविधिक सम्भाव्यताका आधारमा डिजिटल निवेदन तथा बिदा अनुरोध गर्ने सुविधा पनि एपमा राख्ने भनिएको छ ।

साथै, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा संसदीय समितिका सभापतिहरूका लागि पनि जिम्मेवारीअनुसारका डिजिटल सुविधा उपलब्ध गराउने योजना पनि अवधारणामा समेटिएको छ ।

सापकोटाका अनुसार सांसदहरूले कुनै पनि विषयमा संसद्मा कुन समयमा बोल्न खोजेको हो उक्त एपमार्फत प्रक्रिया अगाडि बढाउन सक्ने छन् ।

‘प्रश्नोत्तरदेखि आफूले कुन समयमा के बोल्ने भनेर मोबाइलबाटै एपमार्फत प्रक्रिया अगाडि बढाउँछन्,’ उनी भन्छन्, ‘सम्बन्धित सभाको सचिवले एपमार्फत नै सांसदहरूको आग्रह सम्बोधन गर्छन् ।’

मोबाइल एपबाट सांसदहरूले संसद्को कार्यसूची, विधेयक, बैठकका कागजात र संसदीय गतिविधिसम्बन्धी विवरण प्राप्त गर्न सक्ने छन् । प्रश्नोत्तर, ध्यानाकर्षण, प्रस्ताव तथा अन्य संसदीय प्रक्रियामा सहभागी हुने र आफूले उठाएका विषयको अवस्था थाहा पाउने सुविधा पनि राखिने छ ।

यसबाट सांसदहरूले कुन विषयमा कहिले बोल्ने, कुन प्रस्ताव वा प्रश्न कुन प्रक्रियामा छ र त्यसको सम्बोधनको अवस्था के छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्ने छन् ।

यसैगरी, विधेयकको दर्तादेखि पारित हुँदासम्मको प्रक्रियालाई डिजिटल अभिलेखमा राख्ने र डिजिटल रूपमै निगरानी गर्ने प्रस्ताव छ । विधेयकको छुट्टै पहिचान संकेत, कुन चरणमा पुगेको छ, संशोधन के परे, कुन समितिमा पठाइयो, छलफल र निर्णयको अवस्था के छ भन्ने विवरण प्रणालीमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here