अनुशासन उल्लंघनको आरोप : आशीष शर्मासहित १ सय ७९ कांग्रेस नेता तथा कार्यकर्ता कारबाहीमा

कपिलवस्तु : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कपिलवस्तुका युवा नेता आशीष शर्मा,उनका बुवा दीपकुमार उपाध्यायसहित १ सय ७९ जना नेता तथा कार्यकर्तामाथि कारबाही गरेको छ।

केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार पार्टीको विधान,नीति तथा अनुशासनविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै उनीहरूमाथि कारबाही गरिएको हो।

frontline

कारबाहीमा परेका शर्मा कपिलवस्तुका युवा नेताका रूपमा सक्रिय रहँदै आएका छन्। उनी गत निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार भई रास्वपा उम्मेदवारसँग कम मतले पराजित भएका थिए ।

उनका बुवा दीपकुमार नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष, पूर्वअर्थराज्यमन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूतसमेत हुन्।

केन्द्रीय अनुशासन समितिको निर्णयसँगै कपिलवस्तुमा कांग्रेसका १ सय ७९ जना नेता तथा कार्यकर्ता कारबाहीमा परेको जनाइएको छ। समितिले पार्टी संगठनको अनुशासन, विधान र निर्णयविपरीत हुने गतिविधिलाई आधार बनाएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

कारबाहीमा परेका नेता–कार्यकर्ताको नाम, उनीहरूमाथि लगाइएको आरोप र कारबाहीको प्रकृतिबारे भने केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार थप विवरण सार्वजनिक हुने जनाइएको छ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here