८ कमर्सियल बैंकहरुले बढाए बेस रेट
२२ कार्तिक, काठमाडौं । लगानी योग्य रकम (तरलता) अभावका बीच पनि बैंकहरुको बेस रेट (आधार दर) चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार २७ वाणिज्य बैंकहरुको औसत आधार दर ७.५२९ देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७.७९३ थियो ।
बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । बेस रेट सस्तो हुँदा ऋणको ब्याजदर पनि सस्तो हुन्छ । यो आधारमा सबैभन्दा ऋणको ब्याजदर सस्तो स्टाण्डर्ड चार्ट बैंकमा हुने देखिएको छ । यस अघि सबैभन्दा कम बेस रेट राष्ट्रिय वाणिज्य बैंकको देखिएकोमा अहिले कम हुनेको पहिलो नम्बरमा स्टाण्डर्ड चार्टड देखिएको छ ।
कर्जाको ब्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो ।
आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागु भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागु गरिएको थियो ।
जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुन्छ ।
तर, आधार दर कर्जाको वास्तविक ब्याजदर होइन । यो ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई ब्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर ब्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।
आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ । बैंकले ग्राहक हेरेर बेस रेटमा अतिरिक्त केही प्रतिशत प्रिमियम थप्न सक्छन् ।
सरकारले ल्याएको विभिन्न किसिमका सहुलियत कर्जामा भने बेस रेटमाथि बढीमा २ प्रतिशत मात्रै प्रिमियम जोड्न पाउने व्यवस्था छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले साना कर्जामा पनि बढीमा २ प्रतिशतमात्रै प्रिमियम जोड्न सक्ने बताएको छ ।
१ करोड माथिका कर्जामा भने बैंकहरु आफैंले प्रिमियम तोक्ने अधिकार पाएका छन् । अहिले राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५.४१ प्रतिशत छ । यदि यस बैंकमा १ करोड मुनिको कर्जा लिन जाँदा बेस रेटमा अधिकतम २ प्रतिशत जोड्दा ७.४१ प्रतिशत कर्जाको ब्याजदर हुनेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ वटा कमर्सियल बैंकले बेस रेट बढाएका छन् । बाँकी १९ बैंकहरुको भने बेस रेट घटेको छ । बैंकमा तरलता संकट देखिँदा बैंकहरुको लागत पनि बढेको छ । यद्यपि धेरै बैंकको भने बेस रेट बढेन । एनआईशी एशिया, ग्लोबल आईएमई बैंक, मेगा बैंक लगायतका बैंकहरुको बेस रेट बढेको छ ।
हेर्नुस्, कुन बैंकको बेस रेट कति ?
सि.नं. | बैंकको नाम | यो वर्ष | गत वर्ष |
१ | स्टाण्डर्ड चार्टर्ड बैंक | ५ं.१८ | ६.६१ |
२ | राष्ट्रिय वाणिज्य बैंक | ५.६३ | ५.७४ |
३ | नेपाल बैंक | ५.९३ | ६.८१ |
४ | नविल बैंक | ६.११ | ६.६८ |
५ | नेपाल इन्भेष्टमेन्ट बैंक | ६.७७ | ७.३४ |
६ | एभरेष्ट बैंक | ७.०० | ७.०७ |
७ | कृषि विकास बैंक | ७.१२ | ८.५३ |
८ | ग्लोबल आईएमई बैंक | ७.४१ | ७.२५ |
९ | सानिमा बैंक | ७.४५ | ७.७३ |
१० | एनआईशी एशिया बैंक | ७.४८ | ६.५० |
११ | नेपाल बंगलादेश बैंक | ७.५१ | ९.८७ |
१२ | सिद्धार्थ बैंक | ७.५७ | ८.१० |
१३ | लक्ष्मी बैंक | ७.५७ | ८.०९ |
१४ | प्रभु बैंक | ७.६३ | ७.३९ |
१५ | माछापुच्छ्रे बैंक | ७.६३ | ८.३१ |
१६ | हिमालयन बैंक | ७.७३ | ७.१६ |
१७ | कुमारी बैंक | ७.८८ | ८.४० |
१८ | एनएमबी बैंक | ७.९६ | ७.८५ |
१९ | सेञ्चुरी कमर्सियल बैंक | ८.०९ | ८.६८ |
२० | नेपाल एसबीआई बैंक | ८.११ | ८.३७ |
२१ | सिटिजन बैंक इन्टरनेसनल | ८.११ | ८.८१ |
२२ | नेपाल क्रेडिट एण्ड कमर्स बैंक | ८.१२ | ८.६३ |
२३ | सिभिल बैंक | ८.२६ | ८.८८ |
२४ | प्राइम कमर्सियल बैंक | ८.२७ | ८.१२ |
२५ | सनराइज बैंक | ८.४० | ७.८० |
२६ | बैंक अफ काठमाडौं | ८.५६ | ७.७० |
२७ | मेगा बैंक | ९.८१ | ८.०० |
औसत | ७.५२९ | ७.७९३ |
प्रतिक्रिया दिनुहोस्