७३१ थान राहदानीसहित तीनजना पक्राउ
५ माघ, काठमाडौं । नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट सात सय ३१ थान राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्टहाउसबाट तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा गुल्मी छत्रपुर नगरपालिका–९ का ३८ वर्षीय मीनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका–७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका–३ का लोकजन खड्का रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल तथा गेष्टहाउसमा बसेर वैदेशिक रोजगारसम्बन्धी अवैध गतिविधि गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रवक्ता मैनालीले बताए ।
प्रतिक्रिया दिनुहोस्