३४ वर्षपछि पुरानै धारमा फर्कियो सप्तकोसी, २४ सय घरधुरी अझै उद्धारको पर्खाइमा
१९ साउन, काठमाडौं । सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किएको छ । कोसीले पुरानै बाटो पहिल्याउँदा सप्तरी र उदयपुरका दर्जनौं बस्ती डुबानमा परेका छन् ।
सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएको हो । अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट कोसी बग्ने गरेको स्थानीयले बताएका छन् ।
०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियोे । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बसेको थियो । अहिले कोसीले धार परिवर्तन गरी पुरानै ठाउँमा आएपछि त्यहाँ बसेका बस्ती प्रभावित भएका हुन् ।
बेलका नगरपालिकाका स्थानीयका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएको उनीहरूको भनाइ छ । बेलका–३ मा मात्र ९ सय घर प्रभावित भएको स्थनीयले बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विद्यालय र सार्वजनिक भवनहरूमा पनि बाढी प्रभावितलाई राख्ने तयारी गरेको छ । बाढी विस्थापितहरू अहिले आफन्तकोमा शरण लिइरहेका छन् ।
यता सप्तकोसी नदीको तटबन्ध फुटेर बाढी गाउँ पस्दा सुनसरी र उदयपुर जिल्लाका दुई स्थानीय तहका सयौं मानिस बाढीमा फसेका छन् । बुधबार बिहान बाँध फुटेर गाउँमा बाढी पस्दा सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का २१ सय परिवार र उदयपुरको बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ का ४ हजार घर परिवार प्रभावित भएका छन् । यस्तै बाढीमा फसेका करिब २४ सय घरधुरीको अझै उद्धार हुन सकेको छैन ।
बस्तीलाई बाढीले टापुमा परिणत गरिदिएपछि उनीहरूको उद्धार हुन नसकेको हो । बाढीमा फसेकाहरूलाई सशस्त्र प्रहरीको दुईवटा ढुंगाले उद्धार प्रयास गरिरहेको छ । सशस्त्र प्रहरीलाई स्थानीयवासी, सामाजिक संघसंस्था, नेपाल प्रहरी र नेपाली सेनाले उद्धारमा सहयोग गरिरहेको छ ।
स्थानीय प्रशासनका अनुसार बाढी आउने पूर्वसूचना मंगलबार राति नै दिएका कारण क्षति कम भएको हो । प्रशासनले सर्वसाधारणलाई मंगलबार नै ‘हाइ अलर्ट’ गराएको थियो । प्रशासनको अलर्टपछि कतिपय सर्वसाधारण राति नै उदयपुरको रामपुर आएका थिए ।
बाढीबाट सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्षका ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् । बेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने मेयर अशोक कार्कीको भनाइ छ ।
बाढीबाट अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति रोक्न सकेको प्रशासनको भनाइ छ । प्रशासनका अनुसार सप्तकोसीमा पानीको सतह बढेपछि आवश्यक ब्यारेजको ढोका नखोल्दा बाँध फुटेको हो ।
अहिले सप्तकोसीको जम्मा ३४ वटा ढोका खुलेका छन् । पानीको सतहअनुसार कम्तीमा पनि ४२ वटा खुल्नुपर्ने थियो ।
यसैबीच प्रदेश १ का आन्तरिक मामलामत्री केदार कार्की, भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
प्रभावित क्षेत्रमा पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रभावितहरूको सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताउनुभएको छ ।
अहिले तत्काल उद्दार गर्नुपर्ने भनेको उदयपुरतर्फको बेलका नगरपालिकाको दुईवटा वडा होचो ठाउँमा रहेकोले त्यस क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
‘उदयपुरतर्फको अवस्था तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ,’ उहाँले भन्नुभयो– ‘सुनसरीको बराहक्षेत्रतर्फको २ वटा वडा अलिक उचाइमा भएका कारण जोखिम मापन गरेर सारिनेछ ।’
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिसहितको टोली मिलेर विपद्को व्यवस्थापनमा लागेको उहाँले जानकारी दिनुभयो ।
‘पहिलो प्राथमिकता नागरिकको ज्यान जोगाउन हामी लागेका छौं,’ उहाँले भन्नुभयो– ‘त्यसपछि राहत वितरण हुनेछ ।’ तत्काल सुनसरीको बराह क्षेत्रको २ वटा वडा र उदयपुरतर्फको बेलका नगरपालिकाको २ वटा वडामा समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान गृहमन्त्री बालकृष्ण खाँणले समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षाैंदेखि यो समस्यासँग जुध्दै आएका छन् ।
कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयबासी बताउँँछन् ।
सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले बर्सेनि धेरै जनधनको क्षति गरेको छ । बाढी आउँदा घरजग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रूपमा गर्दा सप्तकोसी किनाराका हजारौं बासिन्दा घरबारविहीन भएका छन् ।
सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने ४ हजार घरपरिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका–६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बुले बताउनुभयो ।
सुनसरीको भाण्टाबारी कोसी ब्यारेजदेखि उत्तर बराह क्षेत्रसम्मका बाँध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्