१७ वर्षपछि नेपाल कमर्स क्याम्पसका प्राध्यापक विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ
नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बुधबार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३९ वर्षका रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका खड्का कानपा–३२ मा बस्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताउनु भयो ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते मंगलबार पक्राउ गरिएको हो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो ।
रञ्जन खड्का र राजिव पाण्डे सहितको समूहले रड र ईट्टा समेत प्रहार गरी घाईते बनाई बेहोस अवस्थामा छोडी फरार रहेकोमा प्राध्यापक धर्मराज विष्टको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।राजिव पाण्डे भक्तपुरको मध्यपुर ठिमी लोकन्थली बस्ने गर्दछन ।
प्रतिक्रिया दिनुहोस्