१६ महिनादेखि थन्क्याइएको रेल शनिबार परीक्षणका लागि गुडाइयो

२४ पुस, जनकपुरधाम । धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ ।

पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न लागिएको छ ।

frontline

२०७७ असोज २ गते जनकपुर ल्याइएको रेल ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको छ । लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको महाप्रबन्धक झाले बताए ।

इनर्वा स्टेशनमा राखिएको रेल जनकपुरधाम हुँदै कुर्थासम्म पुगेको छ । कुर्थाबाट पुनः रेल घुमाएर जनकपुरधामसम्म ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।

भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो । तर पछिल्लो समयमा त्रिपाल पनि च्यातिइसकेको थियो ।

बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्न थालेको अवस्थामा रेल गुडाएर परीक्षण गरिएको छ । महाप्रबन्धक झाले रेल सञ्चालन गर्नकै निम्ति परीक्षण गर्न लागिएको बताए ।

जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरीद गरेर ल्याएको थियो ।

भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

नेपाल रेल्वे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन रहेको छ ।

एउटा रेलमा ५ वटा डिब्बा रहेका छन् । एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार रहेको छ ।

एउटा रेल सेटमा एक पटकमा करीब १३ सय यात्रु चढ्न सक्ने क्षमता रहेको छ । रेल प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा गुड्न सक्ने क्षमताको छ ।

भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म संचालनका लागि रेल खरि गरिएको भएपनि ट्रयाक तयार भएको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा पनि रेल सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here