१२–१७ वर्षका बालबालिकालाई मोडेर्ना खोप लगाउने सरकारको तयारी
२२ मंसिर, काठमाडौं । सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ ।
कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी अघि बढेको बताए ।
दाहालले भने, ‘हिमाली जिल्लाका बालबालिकालाई अहिले खोप लगाउन सकिने अनुकुल अवस्था छ/छैन भन्नेबारे बुधबार उक्त क्षेत्रका अधिकारीहरुसँग छलफल गर्दैछौं । उहाँहरुको सुझाव अनुसार नै बालबालिकालाई खोप लगाउँछौं ।’
तत्काल १० लाख डोज मोडेर्ना खोप आउने र जनवरी महिनाभित्र थप ४० लाख डोज मोडेर्ना खोप प्राप्त हुने दाहालको भनाइ छ ।
खोप प्राप्त भएसँगै अन्य जिल्लामा पनि बालबालिकालाई खोप अभियान सञ्चालन हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्