११ महिनापछि खुल्यो राइनासकोट होमस्टे
कोरोना महामारीका कारण बन्द लमजुङको राइनासकोट होमस्टे ११ महिनापछि खुला गरिएको छ ।
लकडाउन सुरु भएसँगै गत चैतदेखि बन्द गरिएको नेपालको उत्कृष्ट तथा नमुना राइनासकोट होमस्टे ११ महिनापछि शुक्रबारबाट खुला गरिएको राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिले जानकारी दिएको हो ।
सामुदायिक होमस्टे व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै शुक्रबारदेखि होमस्टे खुला गर्ने निर्णय गरेको होमस्टे व्यवस्थापन समिति अध्यक्ष खड्कबहादुर गुरुङले बताए ।
लकडाउनसँगै घरबास व्यवसाय संकटमा परेकाले पर्यटकका लागि होमस्टे खुला गरिएको गुरुङको भनाइ छ । उनका अनुसार राइनासकोट आउने पर्यटक र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरेर मात्र गाउँ प्रवेश गराइनेछ ।
होमस्टे खुला गरेको पहिलो दिन शुक्रबार ११ जना पर्यटक गाउँ आएका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर पाहुनालाई स्वागत गरिएको समितिका उपाध्यक्ष विष्णु गुरुङले बताए । समितिले शुक्रबारदेखि प्याकेजमा पाहुना राख्ने निर्णय गरेको छ ।
समितिले प्रतिव्यक्ति ९ सय रुपैयाँको प्याकेज बनाएको छ । ९ सय रुपैयाँमा १ बेलुकीको खाना, बास र बिहानको खाजा उपलब्ध गराइने उपाध्यक्ष गुरुङले जानकारी दिए । होमस्टे सञ्चालन भएका घरमा साबुन, पानी र स्यानिटाइजर व्यवस्था गरिएको छ ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल राइनासकोटमा चैतयता पर्यटक आगमन बन्द थियो । होमस्टे खुलाए पनि विगतमा जस्तो सामूहिक स्वागत नगरी घरघरमै पाहुनाको स्वागत गर्ने निर्णय गरिएको छ ।
लकडाउनअघि राइनासकोटमा दैनिक सयौँका संख्यामा पर्यटक आउने गरेका थिए । लकडाउन खुलेसँगै अन्य पर्यटकीय गाउँ खुला भए पनि राइनासकोट भने शुक्रबारदेखि मात्रै खुलेको हो ।…..
https://statementandresponse.com/public/user/rainas#
प्रतिक्रिया दिनुहोस्