हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रीले १२ घण्टा पौडी खेलेर जोगाए आफ्नो ज्यान

७ पुस, एन्टानानारिभो । हेलिकोप्टर दुर्घटनामा परेका एक मन्त्रीले १२ घण्टासम्म पौडी खेलेर आफ्नो ज्यान जोगाएका छन् ।

पूर्वअफ्रिकी मुलुक मदागस्कर सरकारका रक्षा एवम प्रहरी मन्त्री सर्ज गेलेले १२ घण्टासम्म पौडी खेलेर ज्यान जोगाएका हुन् ।

frontline

मन्त्री गेलेसहित अन्य तीन सुरक्षा अधिकारीको टोली चढेको हेलिकोप्टर सोमबार उत्तर पूर्वी कोस्ट क्षेत्रमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाग्रस्त स्थलबाट मन्त्री गेले १२ घण्टासम्म निरन्तर पौडी खेल्दै जमिनसम्म आइपुगेका थिए ।

अधिकारीहरुले मंगलबार बताएअनुसार सो क्षेत्रमा यात्रुबाहक डुङ्गा दुर्घटनामा परेकाहरुको उद्धार र अवलोकनका लागि मन्त्रिसहितको टोली घटनास्थलतर्फ जाँदै थियो ।

सोही क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो। सोमबार भएको डुङ्गा दुर्घटनामा परि कम्तीमा ३९ यात्रुको मृत्यु भएको थियो ।

दुर्घटनामा परेका अन्य तीन सुरक्षा अधिकारीले समेत ज्यान जोगाउन सफल भएको अधिकारीहरुले बताएका छन् । 

दुर्घटनाबाट ज्यान जोगाएका मन्त्री गेलेले ट्विटरमार्फत भनेका छन्, ‘मेरो काल अझै आइपुगेको छैन ।

राष्ट्रको हितका लागि भएपनि मैले अझै धेरै बाँच्नु छ ।’ यद्यपि, दुर्घटनापछि उनी सामान्य घाइते भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here