हुलाकी राजमार्गको झापा खण्ड निर्माणको पुल नबन्दा सञ्चालनमा अवरोध
१९ पुस, झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ ।
राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् ।
तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण सुरु गरिएको थियो तर, एक दशक बितिसक्दासमेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो ।
उहाँले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारीलगायतका कारणले पुल निर्माणमा ढिलाई भएको बताउनुभयो ।
“जति ढिलो हुनु भइसक्यो”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष विसं २०७९÷०८० को अन्त्यसम्ममा सडकभित्र रहेका सबै पुल निर्माण भइसक्ने गरी काम भइरहेको छ ।”
जिल्लामा साना ठूला खोलामा गरी करिब २५ मी लम्बाइदेखि ६२४ मी लामो पुल निर्माण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्