हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने, २० वटा विधेयक पास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
२३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
सोमवार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसदका गतिविधिलाई चलयामान बनाउने कुरामा छलफल गरेका छन् ।
उनले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरू संसदबाट पास गर्ने भन्नेबारे प्रमुख सचेतकहरूबाट सुझाव लिए ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री दाहालले संसदको बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरू लैजाने भन्नेबारे छलफल भएको बताए ।
उनले संसद अहिले प्रभावकारी नबनेको भन्दै संसद भाषणको रमिता देखाउने कुरामै सीमित रहेको बताए ।
उनले आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको बताए । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करीब २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री दाहालले जनाएको बताए ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले सोमवारको प्रमुख सचेतकहरूसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरूलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरेको बताए ।
उनले भने, ‘बैठकमा सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरूलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्नुभएको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु भए पनि संसदले गर्ने कार्य सुखद नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले सोमवार बैठक बोलाएको बताए ।
उनले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरूले संसदलाई कसरी सुचारु गर्ने भन्नेबारे छलफल गरेको बताए । उनले संसद सुचारु भए पनि संसदका प्राविधिक कुराहरूमा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा संसदलाई कस्तो बिजनेश दिने भन्नेबारे छलफल भएको बताए ।
उनले बैठकमा समितिहरू बन्न नसक्दा संसदलाई कार्य, व्यवसाय दिने कुरामा अलमल परेकाले कसरी अघि बढ्दा उचित हुन्छ भन्ने कुराबारे छलफल भएको बताए ।
उनले आगामी संसदका बैठकमा राज्य सञ्चालनलाई आवश्यक राष्ट्रिय महत्त्वका विधेयकहरू सरकारले संसदमा प्रस्तुत गर्ने विषयमा छलफल भएको बताए ।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले संसदले बिजनेश नपाएको र संसदमा विधेयकहरू अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले दलका प्रमुख सचेतकहरूसँग सुझाव लिएका बताए ।
उनले सहज रूपमा सरकारले संसदमा विधेयकहरू पेश गर्नका लागि के कस्ता अप्ठ्याराहरू छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस्