हिंसात्मक फ्रान्सेली आन्दोलन : फेरि सडकमा उत्रिने कि नउत्रिने भन्नेमा प्रदर्शनकारीबिच अन्योल
काठमाडौँ । अक्टोबर १७ मा फ्रान्सभर भएका विरोध प्रदर्शनमा सहभागी मानिसहरू पसलमा भएको लुटपाट, सार्वजनिक भवनमा भएको तोडफोड र शान्तिपूर्ण जुलुसमा व्यापक रूपमा अश्रुग्यास प्रयोग गरिएको घटनाबाट अझै स्तब्ध छन् । केही प्रदर्शनकारी शनिबार फेरि सडकमा उत्रिने तयारीमा छन् भने केहीले अब प्रदर्शनमा सहभागी नहुने निर्णय गरेका छन् ।
मध्य फ्रान्सको क्रुज क्षेत्रमा चीज पसल चलाउने ३७ वर्षीय जोएल अक्टोबर १७ मा लिमोज सहरमा भएको प्रदर्शनमा सहभागी भएका थिए । किसान, अग्निनियन्त्रक र माध्यमिक स्कुलका विद्यार्थीसमेत आन्दोलनमा उत्रिएको देखेपछि आफूले पनि केही गर्न सक्ने अवसर पाएको उनले सोचेका थिए ।
उनी काम गर्ने लुगा र जुत्ता लगाएर हिसाबकिताबको काम अधुरै छाड्दै लिमोज पुगे । त्यहाँ उनका सहकर्मीहरू ट्र्याक्टर, ट्रेलर र ठुला साउन्डका सामाग्रीसहित प्रदर्शनमा सहभागी भएका थिए
तर विभिन्न पेसा र समुदायका मानिसहरू उत्साहका साथ सहभागी हुने उनको आशा छिट्टै निराशामा बदलियो । प्रदर्शनको छेउमा केही व्यक्तिले जबरजस्ती राजमार्गमा प्रवेश गर्न खोजे । गाडीहरू जलाइए र लिमोजको सिटी हलमा पनि आगो लगाइयो ।
‘हामीले उनीहरूलाई रोक्न खोज्यौँ । यस्तो कामले आन्दोलनकै बदनाम हुन्छ भन्यौँ । तर उनीहरूले हाम्रो कुरा सुनेनन्,’ जोएलले भने । हिंसा र त्यसका दृश्यले प्रदर्शनकारीका वास्तविक मागलाई ओझेलमा पारेको उनको गुनासो छ ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार अक्टोबर १७ मा करिब पाँच लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए । अब शनिबार फेरि कति मानिस सहभागी हुन्छन् भन्ने स्पष्ट छैन । विद्यार्थी सङ्गठनहरू युनेफ, युनियन एटुडियन्ट र फाजसहित श्रमिक संगठन सीजीटी तथा ‘येलो भेस्ट’ आन्दोलनसँग सम्बन्धित समूहहरूले पुनः प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।
अश्रुग्यासले शान्तिपूर्ण प्रदर्शनकारी पनि प्रभावित
फ्रान्सेली पत्रिका ले मोन्डले कुरा गरेका प्रदर्शनकारीमध्ये धेरैले अक्टोबर १७ का घटनाप्रति स्तब्ध भएको बताएका छन् । उनीहरू पसल र सार्वजनिक भवनमा भएको तोडफोडका साथै शान्तिपूर्ण प्रदर्शनमा प्रयोग गरिएको अश्रुग्यासको मात्रा देखेर पनि आक्रोशित छन् ।
दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलमा प्रदर्शनमा सहभागी ४४ वर्षीया शिक्षिका तथा सीजीटीकी सदस्य इमानुएलले यस अनुभवलाई ‘आघातपूर्ण’ बताउँछिन्, ‘सानै उमेरदेखि म सयौँ प्रदर्शनमा सहभागी भएकी छु । तर यस्तो कहिल्यै देखेकी थिइनँ ।’ उनका अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीलाई जुलुस सुरु हुने स्थानसम्म पुग्न दिएनन् र उनीहरूमाथि लगातार अश्रुग्यासका गोला प्रहार गरे ।
उनी आफ्नी १५ वर्षीया छोरीसँग प्रदर्शनमा गएकी थिइन् । त्यहाँ परिवार र वृद्धवृद्धासमेत थिए । आफूले कुनै दङ्गाकारी नदेखेको तर मानिसहरू भागिरहेको, चिच्याइरहेको र सास फेर्न नसकिरहेको दृश्य देखेको उनले बताइन् ।






प्रतिक्रिया दिनुहोस्