हरिवन नगरपालिकाले सूरु गर्यो अनलाईन सेवा, प्रदेश दुईमै पहिलो भएको दाबी

– हरिवन नगरपालिका कार्यालयले अनलाईन सेवाबाटै कर तिर्ने सेवा सूरु गरेको छ । नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं एवं सूचना प्रविधि फाँटका कर्मचारीले यस्तो अनलाईन सेवा प्रदेश दुईमै पहिलो पटक सूरु भएको दाबी गरेका छन् ।

बुधबार दिउँसो मेयर प्रसाईंले नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच नगरपालिकाकै राजश्व फाँटकी कर्मचारी अंजु धमलाको कर तिर्ने कामको सूरुवात गरेर अनलाईन सेवाको उद्घाटन गरेका छन् । अनलाईन सेवा सूरु भएसँगै सेवाग्राहीले हरिवन नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पति, मालपोत तथा भूमिकर घरै बसेर अनलाईन मार्फत बुझाउन सक्नेछन् ।

frontline

‘अब नगरबासीले नगरपालिका कार्यालय वा वडा कार्यालयमै पुगेर तिर्नुपर्ने एकीकृत सम्पति कर आफ्नो मोबाईलबाटै जतिखेर पनि तिर्न पाउने भएका छन’, मेयर प्रसाईंले भने, ‘समयको निकै महत्व भएको अहिलेको अवस्थामा नगरपालिकालाई सूचना प्रवृधिमैत्री बनाउँदै स्मार्ट सिटी एवं डिजिटल नगरपालिकाको रुपमा रुपान्तरण गर्न यो सेवाले निकै टेवा पुर्याउने विश्वास लिएको छु र सेवाग्राहीहरुले पनि भरपुर उपयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु ।’

नगरपालिका वा वडा कार्यालयमा पुग्नुपर्ने अनि पुगेपछि पनि लाममा बस्नुपर्ने र कतिपय अवस्थामा त सर्भर डाउन भयो भन्दै थप केहीबेर कुर्नुपर्ने अवस्थाबाट गुज्रिरहेका सेवाग्राहीलाई अनलाईन सेवाले ठूलो राहत मिल्ने मेयर प्रसाईंको धारणा थियो । ‘अब त हरिवनमा बसिरहनु भएका बुबाआमाले बाहिर भएका छोराछोरीलाई भनेर मोबाईलबाटै कर तिर्देन बाबु भनेर अराउन पनि सक्नुहुन्छ’, मेयर प्रसाईंले भने, ‘जुनसुकै समयमा जतिखेर पनि तिर्दा हुन्छ ।’ उनले यस्तो सेवा सर्लाही जिल्ला मात्र नभई प्रदेश दुई भरीकै पालिकाहरु मध्ये हरिवनमा पहिलो पटक सूरु भएको दाबी समेत गरे ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपेन्द्रकुमार उप्रेतीका अनुसार खल्ती नामक एप्स मोबाईलमा डाउनलोड गरेर वा गुगलबाटै खोलेर कर तिर्न सकिने छ । त्यस्तै गुगल ब्राउजरमा Tax-hariwon.softechnp.com मा गएर आफ्नो करदाता संकेत नम्बर राखी सबमिट गर्ने लगायत प्रकृयाहरु अगाडी बढाएर कर तिर्न सकिने छ । त्यस्तै कनेक्ट आईपीएसबाट पनि कर तिर्न सकिने बताईएको छ । सेवाग्राहीले कर तिरिसकेपछि तुरुन्त आफूले दर्ता गरेको ईमेलमा पीडीएफ रसिद आउने सूचना प्रविधि अधिकृत उप्रेतीले जानकारी दिए । अनलाईन सेवाबारे कुनै समस्या भए वा थप जान्नका लागि ९८४९६१९७६४ मा सम्पर्क गर्न समेत उप्रेतीले आग्रह गरेका छन् । हरिवन नगरपालिका भित्र हालसम्म एकीकृत सम्पति करदाता २० हजार ४९५ जना रहेका छन् ।

उपमेयर रेणुका पौडेलको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल, वडाध्यक्षहरु, विभिन्न फाँटका प्रमुख एवं कर्मचारी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

फोटो क्याप्सन : ल्यापटमा कर तिर्ने प्रकृया अगाडी बढाएर बुधबार दिउँसो अनलाईन सेवा उद्घाटन गर्दै मेयर प्रसाईं ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here