हत्या प्रकरण : खेदी खेदी गरिएको थियो भुपेन्द्रको विभत्स हत्या

२० मंसिर, कैलाली । कैलालीको टीकापुरमा भएको लम्कीका भूपेन्द्र बडुवालको हत्या प्रकरणबारे प्रहरीले अनुसन्धानलाई अघि बढाइरहेको छ । प्रहरीले २३ वर्षीय भुपेन्द्रको हत्यामा संलग्न १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ भने फरार ९ जनाको खोजी गरिरहेको छ ।

कात्तिक २३ गते टीकापुरमा भुपेन्द्रको हत्यामा संलग्न लम्कीचुहा नगरपालिका–३ चिसापानीका महेश रावल, धिरज भन्ने दिपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्ल, विकास खड्का, प्रबिण रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर र सन्तोष भन्ने सविनजंग शाहीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

frontline

फरार रहनेहरुमा चिसापानीकै नवीन रावल, अनुज भन्ने चिरञ्जीवीजंग शाही, हिमाल शाही, जयन्द्र शाह, विकास शेरचन, रोशनबहादुर शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाही रहेका छन् । प्रहरीले अहिले उनीहरुको खोजी गरिरहेको छ ।

यसरी गरिएको थियो भुपेन्द्रको हत्या ?

प्रहरीको अनुसन्धानमा लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा आफ्नो बर्चश्व कायम गर्न लोकजंग शाहीले युवाहरुको समूह परिचालन गरेको भेटिएको छ । र, त्यस समूहलाई अशोक रावलले संरक्षण प्रदान गर्ने गरेका थिए ।

सुरुमा एकै समूहमा रहेका जयन्द्र शाह र नवीन रावलबीच पछि मनमुटाव तथा आपसी वैमनश्यता उत्पन्न भए पछि दुई समूहका युवाहरु बीच पटक पटक झगडा पैदा भएको प्रहरीले अनुसन्धानमा भनेको छ ।

साथै, प्रहरीले अनुसन्धानका क्रममा यी युवाहरुको समूहका सदस्यहरुविरुद्धमा कैलाली र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको भेटेको छ ।

०७८ भाद्र महिनामा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको अनुसन्धानकै क्रममा जयन्द्र समूहका कपिल श्रेष्ठले नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाई ०७८ कात्तिक १७ गते काठमाडौंबाट मोटरसाइकलमा गएको र २० गते कैलाली लम्की पुगी मुनमुन होटलमा एक रात बसेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

कात्तिक २१ र २२ गते बौनियामा रहेको होटलमा बसी नवीन रावलको समूहलाई कात्तिक २३ गते आक्रमण गर्ने योजना बनाएको पाइएको छ । तर, रावलको समूहले आफूहरुविरुद्ध आक्रमण गर्ने सूचना पाएपछि उनीहरु फरार हुन्छ र उक्त योजना असफल भएको अनुसन्धानमा खुलेको छ ।

यसैक्रममा रावल समूहका मदन शाहीले नवीन रावललाई भेटेर जयन्द्रको समूहले हातहतियारसहित आक्रमण गर्न लागेको बताउँछन् । शाहीबाट उक्त जानकारी पाएपछि नवीन रावल आफ्ना साथीहरु (आर्यान, हिमाल, हेमन्त, मदन, चिरञ्जीवी, रोशन, निशान्त, धिरज, रोहित, सोहन, विकास शेरचन) लाई रोड साइड क्याफेमा जम्मा गर्छन् । र, जयन्द्र समूहका केटाहरुलाई जहाँ भेटे त्यहीँ आक्रमण गर्ने योजना बुन्छन् ।

जयन्द्र समूहका कपिल श्रेष्ठ भने त्यस समय टीकापुर क्षेत्रमा लुकी बसेका हुन्छन् । र, त्यहाँ उनी एक्लो भएपछि उनीसँग मिल्ने साथी भुपेन्द्र बडुवाललाई फोन गरेर लिन बोलाउँछन् । र, भुपेन्द्र उनलाई लिन गएको देखिएको प्रहरी अनुसन्धानमा देखिन्छ ।

यसै क्रममा नवीन रावलको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित खोजीमा हिँड्छ । टीकापुरको जमरा पुल नजिक पुगेको रावलको समूहले भुपेन्द्र बडुवाललाई फेला पार्छन् ।

र, भुपेन्द्रलाई लेखेट्न सुरु गर्छन् । करिब २ किलोमिटरसम्म लखेटेर सिद्धार्थ होटल नजिक भुपेन्द्रलाई पुर्‍याएर उनीमाथि आक्रमण सुरु गरिन्छ । प्रहरीको अनुसन्धानमा भुपेन्द्रको पेट र छातीमा (दुई पटक), पिठ्युमा ३ पटक र टाउकोको पछाडि भागमा एक पटक धारिलो हतियार प्रहार गरेको देखिएको छ ।

पुल नजिक भेटिएका भुपेन्द्र मोटरसाइकलमा सवार रहेको उनलाई रावल समूहले लखेट्न थालेपछि भूपेन्द्र मोटरसाइकल छाडेर आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटी आर्यन देवकोटा, चिरञ्जीवी शाही, रोशन शाही र रोहित आले समेतले कौशीदेवी विष्टको घरको पेटीमा नै भुपेन्द्रलाई नियन्त्रणमा लिई आक्रमण गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

भुपेन्द्रमाथि आक्रमण गरि नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जीवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुँदै जोशीपुर पुगेका छन् । योजनाअनुरुप आर्यन देवकोटा भने आफूले नै उक्त घटना घटाएको हो भन्नका लागि बौनिया बजारमै बस्छन् ।

नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, र चिरञ्जीवी शाहीहरु भने लोकजंगले पूर्वयोजनाअनुसार लोकेन्द्र कुँवरले बौनिया बजार भन्दा उत्तर तर्फको चायाँभावर गाउँको एक स्थानीयको घरमा लुक्न पुग्छन् ।

त्यहाँ पुगेका रावल समूहलाई लोकजंगले नै खाना, बस्ने र खर्चको सबै व्यवस्था गर्छन् । कात्तिक २५ गते रावल समूहलाई भगाउन सबिनजंग शाहीले कार भाडामा लिई चायाभावर गई निजहरुलाई उक्त कारमा जुगेडासम्म ल्याएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

कात्तिक २६ गते भारतीय बोलेरो जीप भाडामा व्यवस्था गरी नवीन रावलसमेतलाई भारतको ढकिया गाउँसम्म पुर्‍याइ शाही फर्केको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

शाहीले नवीन रावल समूहले प्रयोग गरेको २ वटा मोटरसाईकलको नम्बर प्लेट चेन्ज गर्न लगाई बर्दिया भुरीगाउँस्थित रोयल एडभेन्चर रिसोर्टमा लुकाएर राख्छन् भने रावल समूह भारततर्फ गएपछि उनीहरुका ५ मोबाईल आफूसँगै राख्छन् ।

उनले आफूसँग राखेको मोबाइल लुकाउनका लागि डेबिड चन्द्र कडायतलाई राख्न दिएको प्रहरीको अनुसन्धानमा भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here