हटाइयो वीर अस्पताल अघिका औषधि पसलहरु भएको अस्थायी टहरा
६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअघिका औषधि पसलहरु भएको अस्थायी टहरा हटाएको छ । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा र त्यसमा चलाइएका पसलहरू हटाएको हो ।
सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैंचाको रुपमा थियो । तर, वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।
तर, महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो । केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए ।
बिहीबार दिउँसो २ बजे डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पतालअघिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ । सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ ।
योसँगै वीर अस्पतालअघिका अधिकांश औषधि पसल विस्थापित भएका छन् । योसँगै वीर अस्पतालका बिरामी र उनीहरुका आफन्तलाई वीर अस्पताल आसपास औषधि किन्न भने सकस हुनेछ ।
प्रतिक्रिया दिनुहोस्