स्क्रब टाइफसका कारण गोरखामा एक पुरुषको मृत्यु
२२ कार्तिक, गोरखा : पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक पुरुषको मृत्यु भएको छ। भीमसेन थापा गाउँपालिका ६ थापाटारका ६७ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।
चितवन मेडिकल कलेज(सिएमसी)मा उपचारको क्रममा उनको मृत्यु भएको मृतकका आफन्त शिव थापाले जानकारी दिए। खेतको काम सकेर घर फर्केका उनी एक्कासी कमजोरीसहितको ज्वरोले ग्रस्त भएपछि गोरखा अस्पतालमा उपचारका लागि आएका थिए।
व्यथाले कराप्दै लगेपछि थप उपचारका लागि उनलाई सिएमसी पुर्याइएको र चौबीस घण्टा नबित्दै उनको मृत्यु भएको थापाले बताए।
भीमसेन थापा गाउँपालिकामा अरु कसैलाई पनि स्क्रब टाइफस नफैलिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए।
यसअघि आरुघाट गाउँपालिकामा भने ३५ जना सो रोगले संक्रमित भएका थिए। तर अहिले आरुघाटमा पनि संक्रमित नरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्