सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा
२४ पुस, काठमाडौं । सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । एकै दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य वि.सं. २०७९ कै उच्च हो ।
गत वर्ष (२०७८) फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको रेकर्ड छ । सो दिन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यसयता घट्दै गएको मूल्य ९१ हजार रुपैयाँसम्म झरेको थियो । पुनः मूल्य उकालो लागेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाउन सक्ने संकेत देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च प्रतितोला १ हजार ४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
प्रतिक्रिया दिनुहोस्