सुदूरपश्चिममा महिनामै २ करोडको अवैध सामान बरामद, लागुऔषधमा १२१ जना पक्राउ

News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रहरीले ६ असारमा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बाट २७३.२६० ग्राम खैरो हिरोइन सहित पक्राउ गरे।
  • सुदूरपश्चिम प्रदेशमा लागुऔषधको अवस्था भयावह भईरहेकोले प्रहरीले विशेष अभियान चलाएको छ।
  • प्रहरीले अवैध हातहतियार, चोरी र तस्करी नियन्त्रणका लागि पनि सक्रियता देखाएको छ।

frontline

१२ असार, धनगढी । प्रहरीले ६ असारमा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बाट ठूलो परिणामको लागुऔषध खैरो हेरोइनसहित बरामद गर्‍यो ।

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक एकै ठाउँमा ठूलो मात्रामा (२७३.२६० ग्राम खैरो हिरोइन) लागुऔषध बरामद गरेको हो । यो अहिलेसम्मकै रेकर्ड ब्रेक थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले यो अप्रेसन गरेको थियो ।

स्थानीय सम्राट होटलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले पुनर्वास नगरपालिका–६ बस्ने दिपक बिसी र दार्चुलाको महाकाली नगरपालिका–३ का नरसिंह महरालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी मुुद्दा चलिरहेको छ ।

प्रहरीले पहिलोपटक ठूलो परिणामको लागुऔषध बरामद गरेको भए पनि सुदूूरपश्चिममा दैनिकजसो लागुऔषध सेवन तथा प्रयोगमा संलग्न व्यक्तिहरु पक्राउ परिरहेका छन् ।

भूगोलका हिसाबले सबैभन्दा ठूलो रहेको कैलालीमा चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म मात्र करिब ७०० जना लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।

प्रदेशमा लागुऔषधको अवस्था भयावह बन्द जान थालेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयसँगको समन्वयमा जिल्लाहरुमा दुर्व्यशनीविरुद्धको अभियानलाई सक्रिय पूर्वक अगाडि बढाएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले बितेको एक महिनामा मात्र लागुऔषध दुर्व्यसनीमा संलग्न १२१ जनालाई पक्राउ गरेको छ । जसमा ७४ मुद्दा दर्ता गरिएकोमा ११९ पुरुष र दुई जना महिला रहेका छन् ।

डीआईजी डम्बरबहादुर बिक ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विश्वकर्माले पक्राउ परेकाहरुबाट लागुऔषधका रुपमा प्रयोग गरिने गाँजा, चरेस र हिरोईन बरामद गरिएको बताए ।

उनकाअनुसार सबैभन्दा बढी ३९१.५५३६ ग्राम खैरो हेरोइन, १७६.३९३ चरेस, १६.५२० ग्राम गाँजा बरामद गरिएको छ ।

डीआईजी विश्वकर्माले समुदायमा लागुऔषध दुर्व्यसनी भयावह रुपमा फैलिरहेकोले न्यूनीकरणमा विशेष योजनाका साथ सक्रियता जनाइएको छ ।

‘समुदायमा लागुऔषध दुर्व्यसनी डरलाग्दो रुपमा फैलिरहेको छ । दुर्व्यसनीमा लागेकाहरुलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने, समुदायमा सचेतना फैलाउने जस्ता क्रियाकलाप प्रहरीले गरिरहेको छ,’ विश्वकर्माले भने, ‘जिल्लाहरुमा लागुऔषधविरुद्ध विशेष खालका अभियानहरु नै चलाइएको छन् ।’

खुला सीमा नाकाका कारण पनि सुदूरपश्चिममा लागुऔषध दुर्व्यसनीले विकराल रुप लिएको दाबी गरिएको छ ।

प्रहरीले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तरगत लागुुऔषध दुर्व्यसनी र बढ्दो साईबर अपराधको नियन्त्रणका लागि म सुरक्षित मेरो घर सुरक्षित अभियान स्वीकृत भएर सञ्चालनको तयारीमा समेत रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व डीआईजी विश्वकर्माले सम्हालेपछि भारतबाट अवैध रुपमा हुने चोरी, तस्करी नियन्त्रणमा समेत प्रहरीले सक्रियता देखाएको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत २४ वैशाखदेखि असार पहिलो हप्तासम्म अवैध रुपमा भित्र्याइएको दुई करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद गरिएको छ ।

अवैध सामान ओसारपसारमा संलग्न रहेका ८ जनालाई पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । यो अवधिमा १४५ जना फरार प्रतिवादी पक्राउ गरी २२ वर्ष दुई महिना १२ दिन कैद र एक करोड १८ हजार जरिवाना रकम असुल्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

प्रदेशमा अवैध हातहतियारको प्रयोग पनि बढ्दो

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय अवैध रुपमा हातहतियारको प्रयोग पनि बढिरहेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीले एक महिनाको अवधिमा अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

उनीहरुको साथबाट भरुवा बन्दुक र पेस्तोल बरामद गरेको छ । भारतमा हुने चोरीका घटनामा समेत ९ जनालाई पक्राउ गरेर २८ लाख नगद र २३८.८७० मिलीग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख विश्वकर्माले प्रदेशमा सबै खालका अपराधिक गतिविधि नियन्त्रणका लागि सक्रियता बढाइएको बताए ।

उनले सामाजिक रुपमा फैलिएका दुर्व्यसनी न्यूनीकरण, अपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा कुनै पनि सम्झौता नहुने दाबी गरेका छन् ।

विश्वकर्माले प्रहरीहरुलाई समेत पेसागत आचारणअनुसार कर्तव्य पालन गर्न निर्देशन दिइएको बताउँदै कहीँकतै बदमासी गरेको थाहा पाएमा तत्काल खबर गर्न आग्रह पनि गरेका छन् ।

पेसागत आचरण विपरीतको व्यवहार गर्ने प्रहरी कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइन् उनको भनाइ छ ।

अवैध सामान |लागुऔषध |सुदूरपश्चिम

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here