सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै भर्खर रिलिज भएको ‘चपली हाइट ३’ मारमा
३ माघ, काठमाडौं । सरकारले माघ १५ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो ।
सरकारको यो निर्णय गरेसँगै शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘चपली हाइट ३’ मारमा परेको छ ।
निर्माताले बारम्बार प्रदर्शन मिति सार्दै पुस ३० को मिति तय गरेका थिए ।
तर, चलचित्र रिलिज भएको तीन दिनमै हल बन्द हुने निर्णय आएपछि निर्माता मारमा परेका हुन् ।
अर्जुन कुमारले निर्माण गरेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
सस्पेन्स थ्रिलर कथामा बनेको यो चलचित्रले दर्शकको औसत साथ पाएको छ । चलचित्रको व्यापार पनि औसत छ ।
तर, चलचित्रको वर्ड अफ माउथले आगामी दिनमा दर्शक बढ्ने अपेक्षा यसको निर्माणपक्षको छ ।
तर, अब हल बन्द भएपछि चलचित्रको भविष्य अन्योलमा देखिएको छ । निर्माता अर्जुन कुमारले हल खुलेपछि चलचित्र फेरि प्रदर्शन गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्